
२२ साउन, काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/७८ को तुलनामा १६२.३६ प्रतिशतले बढाएको हो ।
बैंकले अघिल्लो आवमा ५२ करोड ७७ लाख ८४ हजार मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ६४.३१ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड १५ लाख ३४ पुग्दा अघिल्लो आवमा सम्भावित कर्जा नोक्सानी वापतको ३४ करोड ४६ लाख प्रोभिजन गरेको बैंकले गत आवमा ५ करोड ४३ लाख राइट व्याक गरेको छ ।
जसले गर्दा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३९.२५ प्रतिशतले वृद्धि भएर दुई अर्ब ११ करोड ३२ लाख ७१ हजार पुगेको छ ।
बैंकले गत असार मसान्तसम्म ९६ अर्ब ३ करोड ८७ लाख ४१ हजार निक्षेप संकलन गरेर ८७ अर्ब ९ करोड २२ लाख ६१ हजार कर्जा लगानी गरेको छ । बैंकको निक्षेप र कर्जा क्रमशः ९० अर्ब ३४ करोड ४९ लाख २८ हजारबाट ६.३० प्रतिशत र ८३ अर्ब ३ करोड ७७ लाख ७० हजारबाट २३.६० प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ६४ करोड ३६ लाख ६० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आवमा ५ प्रतिशत बोनस सेयर दिएर ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार पुयाएको छ । पूँजी वृद्धिका बाबजुत पनि बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ११ पैसाबाट बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ६७ पैसाबाट बढेर १३२ रुपैयाँ ४३ पैसा पुगेको छ ।
सञ्चित कोषमा १ अर्ब ६३ लाख ९ हजार रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९३ करोड ६८ लाख ८६ हजार छ । बैंकको बेस रेट ७.८३ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत पुगेको छ । यस्तै पूँजी पर्याप्तता अनुपात ११.८८ प्रतिशतबाट बढेर १६.०५ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ लाख ९ हजार रहेको छ ।
प्रतिक्रिया 4