
२३ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन् ।
२८औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए ।
आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए ।
प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए ।
‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । नेपालको संविधानले आदिवासी, जनजाति समूदायको विकास र समृद्धिको लागि छुट्टै आयोगको व्यवस्था गरेको छ । राज्यका हरेक तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी रुपमा आत्मसात गर्दै राष्ट्रको विकास र समृद्धिका लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो समूदाय आदिवासी, जनजातिको सर्वाङ्गिन विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’
प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4