
२३ साउन, बुटवल । दुई पटक म्याद थप्दा पनि निर्माण पूरा नहुँदा अलपत्र परेको बुटवलको अस्पताल लाइनदेखि गोलपार्कसम्मको सडक भदौ मसान्तसम्म कालोपत्रे गरेर सक्ने ठेकेदारले लिखित प्रतिवद्धता जनाएका छन् ।
बुटवल उपमहानगरपालिकाले सरोकारवाला बीच राखेको बैठकमा निर्माण कम्पनी कञ्चनजंघा/बिरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौ मसान्तसम्म अस्पताल लाइनदेखि गोलपार्कसम्मको करिब २ किलोमिटर सडक कालो पत्रे गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कुनै बाह्य अवरोध नहुँदा पनि काम नगरेर आलोचित बनेको निर्माण कम्पनीलाई दुई हप्ता अघि सडक विभागले ठेक्का रद्द गर्ने चेतावनी सहित स्पष्टिकरण सोधेको थियो ।
राजमार्ग चौराहादेखि चिडियाखोलासम्म २.९ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न ३० महिनामा पूरा गर्ने गरी १२ चैत २०७३ मा ठेक्का सम्झौता भएको थियो ।
२.९ किलोमिटर मध्ये खाल्डैखाल्डाले जीर्ण बनेको अस्पताल लाइनदेखि माथिको भाग भदौ मसान्तसम्म कालोपत्रे गरेर सक्न निर्माण व्यवसायी सहमत भएर लिखित प्रतिवद्धता जनाएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
सडक निर्माणको अनुगमन र सहजीकरणका लागि बुटवलतर्फको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वको समितिले गर्ने निर्णय भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सडक समयमा नबनाए आफू सडकमै अनसन बस्ने चेतावनी समेत दिएका थिए ।
अस्पताल लाइनदेखि तलको क्रमशः काम गर्ने अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि गत ३० असारमा सकिएको थियो ।
यसअघि १८ असार २०७८ मा पनि ठेकेदार श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिवद्धता गराइएको थियो । तर त्यसपछि पनि ठेकेदारले गतिका साथ नियमित काम नगर्दा सडकको दुर्दशा भएको छ । बुटवलको मुख्य बजार क्षेत्रको सडकका खाल्डाखुल्डीमा पानी जमेर पोखरीजस्तो बनेको छ ।
राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक विस्तार निर्माण व्यवसायीले बेलैमा नसकेका कारण पानी पर्ने वित्तिकै सडक वारपार गर्न कठिन हुने गरेको छ ।
असार मसान्तसम्म करिब २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले बताए । सुरुमा सम्झौता गर्दा ४७ करोड २७ लाख रुपैयामा ठेक्का सम्झौता भएकामा संशोधित हुँदा लागत बढेर ५३ करोड ९८ लाख रुपैयामा सम्झौता भएको हो ।
प्रतिक्रिया 4