
२४ साउन, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले प्रतिनिधि सभामा पेश भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ मा गम्भीर त्रुटिहरू रहेको बताएको छ ।
सोमबार विज्ञप्ति निकालेर एशोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले विधेयकमा गम्भीर त्रुटिहरू रहेको भन्दै सच्याउन माग गरेका छन् ।
विधेयकमा गरिएका कतिपय व्यवस्थाहरू नेपालको संविधान, मौजुदा केही कानुनहरू र अन्तर्राष्ट्रिय मापदण्डसँग बाँझिएको एशोसिएसनको दाबी छ । ‘कतिपय अवस्थामा नेपालको संविधानले स्थानीय तहको एकल अधिकारको सूचीमा उल्लेख भएका प्रावधानहरुलाई (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुगमन, मूल्याङ्कन र नियमनका अधिकार) समेत हस्तक्षेप गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको कार्यविस्तृतिकरण प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेको भेटेरिनरी प्राविधिकहरुको दर्ता अनुमति, नवीकरण र खारेजी र नियमन गर्ने व्यवस्थासमेत घुमाउरो तरिकाले संघमा नै केन्द्रित गरिएको पनि एशोसिएसनको दाबी छ ।
स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी विधेयक ल्याएर पारित गरिएको उल्लेख गर्दै एशोसिएसनले भनेको छ, ‘भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्याउने हिसाबले ल्याइएको उक्त विधेयकमा सम्पूर्ण माननीय संसद सदस्यहरुको गम्भीर ध्यानाकर्षणको लागि नेपाल भेटेरिनरी एशोसिएसन गम्भीर तवरले अनुरोध गर्न चाहन्छ ।’
यो विधेयक प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले दफावार छलफल सकाएर पारित गरेपछि समिति सभापति पूर्णाकुमारी सुवेदीले साउन २२ गते विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिसकेकी छन् ।
प्रतिक्रिया 4