+
+

भजन गाउँदा किन विवादमा परिन् फरमानी नाज ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १७:११

‘‘नात’ या ‘भजन’ जेसुकै गाएपनि गीतका आधारमा उसको धर्म परिवर्तन हुँदैन । हिन्दूले नात सुने मुसलमान हुँदैन । भजन सुनेर मात्रै कोही हिन्दू हुँदैन । यस्तो होइन कि मैले भजन गाएँ म हिन्दू भएँ,’ यो भनाइ भारत उत्तर प्रदेशको मुजफ्फर जिल्लाकी गायिका फरमानी नाजको हो ।

नाजको यो अभिव्यक्तिको भारतभर चर्चा भइरहेको छ । उनले हिन्दी भजन ‘हरहर शम्भु’ गाएकी छिन् । मुस्लिम भएर भजन गाएको भन्दै उनीविरुद्ध धार्मिक मृत्युदण्डको उर्दी जारी गरेको कुरा समेत बाहिर आइरहेका छन् । तर नाजले भने यी सबै हल्ला भएको भन्दै आफ्नो गाउँमा सबै मुसलमान भएको र उनीहरुलाई आफ्नोबारे थाहा भएको भन्दै उर्दी जारी गर्नुको साटो आफूमाथि गर्व गर्ने बताएकी छन् ।

‘मेरा विरुद्ध कुनै उर्दी जारी भएको छैन । मैले गीतका साथै भजन पनि गाउँछु भन्ने कुरा उनीहरुलाई थाहा छ । उनीहरु फरमानीको गाउँबाट भन्न गर्व गर्छन्,’ उनले भनेकी छन् ।

सामाजिक सञ्जालमा फरमानीको नक्कली आईडी बनाएर छिट्टैै उनी हिन्दू धर्म अवलम्बन गर्न गइरहेको दाबी गरिएको छ ।

‘कसैले मेरो नामको नक्कली आईडी खोलेर मैले हिन्दू धर्म अपनाउने भनेर ट्वीट गरेको छ । उनीहरुले मेरा पूर्वजलाई पनि हिन्दू बताइरहेका छन् । तर यस्तो केही पनि होइन यसरी सामाजिक सञ्जालमा लेख्ने विरुद्ध कारबाही हुनुपर्छ । यस्ताहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भनेकी छन् ।

उनी अगाडि भन्छिन्, ‘सबै धर्म राम्रा छन् । मैले किन धर्म बदल्ने । म एक कलाकार हुँ । गीतका साथै भजन गाउने  भएकाले मलाई सबैले सुन्छन्  । न कि म मुसलमान भई भजन गाएकाले । उनीहरुलाई मेरो स्वर मन परेर सुनेका हुन् । हामी गरिब हौं र गाउँबाट यहाँसम्म आएका हौं ।’

विवाह र आर्थिक अवस्था

फरमानीले सन् २०१८ मा आफ्नो विवाह भएको बताएकी छन् । तर विवाह गरेको दुई-तीन महिनापछि श्रीमानको अरु महिलासँग सम्बन्ध रहेको थाहा पाएको उनले बताएकी छन् । उनीहरुका तीन वर्षका एक छोरा छन् ।

छोराको जन्म हुँदा नाक-मुखको नली एउटै थियो । खाएका कुरा नाकको नलीबाट फिर्ता आउँथ्यो । छोरा जन्मिंदा धेरैले रोगी छोरा जन्माएको भन्दै उनलाई नानाथरी कुरा सुनाएका थिए ।

छोराको स्वास्थ्यमा समस्या देखिएपछि श्रीमानले उपचारका लागि पैसा माग्न थाले । पैसालाई लिएर उनी बारम्बार फरमानीलाई सताउन थाले । लगातारको तनावका कारण उनी डिप्रेसनको शिकार भइन् । सन् २०१९ मा उनी माइत गइन् । उनले श्रीमान आउने आशा पालेर बसेकी थिइन्, तर कहिल्यै फर्केर आएनन् ।

श्रीमानले सम्बन्ध विच्छेदबिना नै अर्की महिलासँग बिहे गरेको फरमानको आरोप छ । ‘मेरो माइती गरिब थिए । मेरो छोराको उपचार गर्न सक्ने आर्थिक अवस्था थिएन । यस्तो परिस्थितिमा म के गर्थें,’ उनले बीबीसीसँग भनेकी छन् ।

फरमानीको परिवारमा भाइ फरमान पनि गायक छन् । फरमानीले भाइसँगै आफ्नो गायकी सुरु भएको बताएकी छन् ।

फरमानी कसरी बनिन् गायिका ?

फरमानीले सन् २०१९ बाट गाउन सुरु गरेकी थिइन् । गीतका साथै सुरुदेखि नै उनी फिल्म र नात गाउँथिन् ।

‘बाल्यकालदेखि नै मेरो आवाज मीठो थियो । स्कुलमा शिक्षकले भाइ र मबाट राष्ट्रभक्तिका गीत सुन्थे । शिक्षकलाई हाम्रो आवाज मन परेर बुवाआमालाई भेटेर हामीलाई राम्ररी ध्यान दिन भनेका थिए । गाउँमा पढ्ने चलन थिएन । मैले आठ कक्षासम्म मात्रै पढें,’ उनले भनेकी छन् ।

माइत आएपछि उनलाई छोराको उपचार गर्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । एक दिन राहुलकुमार नामक युवाले उनलाई गाउन सुन्यो र त्यसलाई आफ्नो युट्युब च्यानलमा राख्यो । भिडियो एकाएक भाइरल भयो । उनले हीर-राँझा फिल्मको मिलो ना तुम तो दिल घबराए’ गीत गाएकी थिइन् ।

आफूले गाएको गीत भारतका चर्चित गायक कुमार सानुले समेत सुनेको र उनले उपहारस्वरुप हार्मोनियम पठाएको फरमानीले बताउँछिन् । यसरी उनी व्यावसायिक रुपमा गायनमा लागिन् । साथीहरु मिलेर स्टुडियो निर्माण गरे र फरमानीले नज्म, भजन, गीत गाउन सुरु गरिन् ।

फरमानीले संगीतको कुनै औपचारिक कक्षा लिएकी छैनन् । उनी इण्डियन आइडल सिजन-१२ मा सहभागी भएकी थिइन् । आइडलमा उनले गोल्डेन टिकट समेत पाएकी थिइन् । तर अचानक छोराको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी आइडल छाडेर घर फर्किन बाध्य भइन् ।

आज फरमानीको आफ्नै युट्युब च्यानल छ । ‘अहिले म युट्युब च्यानलबाट कमाउँछु । परिवारमा आमाबुवाका साथै हामी पाँच जना छौं, सबैको खर्च आफैं उठाउँछु,’ उनले भनेकी छन् । पहिलेभन्दा अहिले आफूले राम्रो खान र लगाउन सकेको उनी बताउँछिन् ।

कलालाई धर्मसँग जोडेर नहेर्न उनको आग्रह छ । फरमानी भन्छिन्, ‘कलाको धर्मसँग कुनै सम्बन्ध छैन । मैले भजन गाउँदैमा म हिन्दू भएकी छैन । मलाई सबै धर्मकाले सुन्छन् । घरमा हुँदा नमाज, कुरान पढ्नुका साथै रोजाको व्रत समेत राख्छु,’ उनले भनेकी छन् ।

उनले भारतमा रहेका सबै भारतीय भएकाले सबै मिलेर बस्नुपर्ने, एकता कायम राख्नुपर्ने र भजन तथा नज्मलाई लिएर विवाद गर्नुपर्ने कारण नभएको गुनासो गरेकी छन् ।

उनले मुहर्रम तथा कृष्ण जन्माष्टमीका लागि कवाली र भजन दुवै तयार गरिरहेको भन्दै आफूले फिल्मी गीत पनि गाउने बताएकी छन् ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?