
२४ साउन, काठमाडौं । नागरिकता दिने बेलामा राखिएका अपमानजनक नाम फेर्न गृह मन्त्रालयले अनुरोध सहितको सूचना जारी गरेपछि पहिलो चोटी एक जनाले निवेदन दिएका छन् ।
दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको ‘कुकुर कामी’ नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा मंगलबार निवेदन दिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेख प्रशासनका सूचना अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार निवेदन दिनेवित्तिकै कार्यालयले जिल्ला प्रहरी कार्यालय र भगवतीमाई गाउँपालिकाकालाई मुचुल्का उठाउन पत्र पठाएको छ । मुचुल्कामा कुन कारणले अपमानजनक नाम रहन गएको र कुकुर कामी नाम गरेका व्यक्ति कविराम कामी नै हुन भन्ने विषयलाई उल्लेख गर्नुपर्ने लगायतका विषय उल्लेख हुने कोइरालाले बताए ।
कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ सालमा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस गरिदिएको निवदेनमा उल्लेख गरेका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुरा गरेर नागरिकताको नाम फेरिने बताए । ‘यो विषयमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दैलेख गम्भीर छ । नागरिकतामा नाम संशोधनको लागि प्रक्रिया सुरु भईसकेको छ । अब प्रमाणिकरण गरेर संशोधनको काम हुनेछ’, प्याकुरेलले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4