
२४ साउन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभाको चालु अधिवेशन अझै केही समय चल्ने बताएका छन् । प्रतिनिधिसभाले यो अधिवेशनमा थुप्रै कानुन बनाउने पनि उनले बताए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणा गरिसकेको अवस्थामा सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताउँदै आएको छ ।
मंगलबार प्रतिनिधिसभामा बोल्ने सांसदहरुले निर्वाचन सम्बन्धी कानुन संशोधनको आवश्यकता औंल्याएका थिए । कतिपय सांसदले चालु अधिवेशनमै नयाँ विधेयक ल्याएर कानुन बनाउन सकिने वा नसकिनेमा संशय व्यक्त गरेका थिए । जवाफमा मन्त्री बन्दीले भने, ‘यो पार्लियामेन्ट अझै चल्छ । थुप्रै कानुनहरु बनाउँछ ।’
निर्वाचन आयोगका अनुसार आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार पारेको छ । तयार मस्यौदामा प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचनमा दलहरुले ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने विषयलाई समावेश गर्नुपर्ने महिला सांसदहरुको प्रस्ताव छ ।
कानुनमन्त्री बन्दीले विभेद र सामाजिक, सांस्कृतिक कमजोरीलाई अभियानकै रुपमा हटाउँदै जानुपर्ने जवाफ दिए ।
प्रतिक्रिया 4