
२४ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकसम्म सीएनआई रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ ।
परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो ।
चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति समेत हुने बताए ।
मेलमा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने उनले बताए । अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्द बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको उनको भनाइ छ ।
परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास गरेको छ ।
सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास परिसंघले लिएको छ ।
नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ ।
प्रतिक्रिया 4