
२४ साउन, काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएकै दिन सरकार बनाउने अर्को दाबी पेश गरेका छन् ।
यसअघि भारतीय जनता पार्टी भाजपाको समर्थनमा मुख्यमन्त्री रहेका उनले राजीनामापछि राष्ट्रिय जनता दल र स्वतन्त्र सांसदको समर्थनमा सरकार बनाउने दाबी पेश गरेका हुन् ।
जनता दल युनाइटेडका नेता नितिश कुमारले बिहारका राज्यपाल फागू चौहानलाई भेटेर दाबी पेश गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राज्यपालसँगको भेटपछि नितिश कुमारले भने,‘हामी उता थियौं, जोसँगको बाटो आज हामीले बन्द गरिदियौंँ, हामीले सात दलका १६४ र १ स्वतन्त्र सांसदको समर्थनमा दावा पेश गरेका छौं ।’
राज्यपालले सरकार बनाउन निम्तो दिएपछि आफूले सरकार बनाउने उनले बताए ।
नितिश कुमारले साथ छोडेपछि भाजपाले भने बिहारका जनता र २०२० को चुनावको जनादेशको अपमान भएको बताएको छ । २४३ सदस्यीय बिहारको विधानसभामा नितिशकुमारको जनता दल युनाइटेडले ४३ सिट जितेको भए पनि ७४ सिट जितेको भाजपाले उनलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।
नितिशलाई अहिले समर्थन गरेको राष्ट्रिय जनता दलले भने ७५ सिट जितेको छ ।
प्रतिक्रिया 4