
२६ साउन, काठमाडौं । नायब सुब्बाहरुले सुरु गरेको आन्दोलनलाई निर्णायक बनाउन भन्दै निजामती कर्मचारीका राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले आजदेखि संयुक्त आन्दोलन थाल्दैछन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट कर्मचारी संगठनहरुले आज अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दैछन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती ऐन ल्याउन दबाब दिन र नासुहरुले थालेको आन्दोलनलाई साथ दिन माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्न लागिएको बताए ।
आर्थिक वर्ष २०७९/८० देखि लागु हुने नयाँ तलबमानमा आफूहरुलाई विभेद गरिएको भन्दै नासुहरुले विरोध जनाउँदै आएका छन् । बजेट भाषणमा १५ प्रतिशत तलब वृद्धिको घोषणा भए पनि अधिकृतदेखि माथिका कर्मचारीहरुको तलब त्योभन्दा बढीले बढाउने तर नासुहरुको तलब १५ प्रतिशत मात्रै बढाउने गरी अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गरेको सार्वजनिक भएपछि नासुहरु असन्तुष्ट छन् ।
उनीहरुले साउन २३ गते सिंहदरबारभित्र ‘पेन डाउन’ गरेर त्यसको विरोध जनाएका थिए । उनीहरुको विरोधलगत्तै सोही दिन कर्मचारी संगठनका नेताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विभेदपूर्ण तलबमान सच्याउन ध्यानाकर्षण गराएका थिए । त्यसको भोलिपल्ट नासुहरुले नेपाल सरकारका मुख्य सचिव, सामान्य प्रशासन मन्त्री र अर्थमन्त्रीलाई एसएमएस पठाएर सबै कर्मचारीहरुको तलब समान प्रतिशतले बढाउन र संघीय निजामती सेवा ऐनको मस्यौदामा नासुहरुका लागि गरिएको विभेदकारी व्यवस्था हटाउन माग गरेका थिए ।
‘राजपत्र अनंकिन कर्मचारी संरक्षण अभियान’ को नामबाट हुँदै आएको दबाबमुलक कार्यक्रमको स्वामित्व अहिले निजामती क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका पाँचवटै ट्रेड युनियनहरुले लिएको नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले जानकारी दिए । आजको प्रदर्शनमा पाँचवटै कर्मचारी संगठनका नेताहरुले सम्बोधन गर्ने उनले बताए ।
पाँच कर्मचारी संगठनका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर राजपत्राङ्कित पदहरुमा तलब वृद्धि गर्दा पद सोपान (मर्यादा) अनुरुप व्यवस्थापन गर्ने गरी नयाँ तलबमानमा लिएको आधार र तलब वृद्धिलाई कायम राख्दै समायोजन ऐन २०७५ अनुरुप प्रदेश र स्थानीय तहको पदमा समायोजन गर्दाको पद र समायोजन भएको पदलाई राजपत्र अनंकित तथा श्रेणीविहीन पदमा समेत कायम गरी तत्काल लागू गर्न माग गरेका छन् ।
विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेल, नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती)का अध्यक्ष हरिबहादुर रावल, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहन कुमार घिमिरे र जनता समाजवादी पार्टी निकट नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् संयुक्त विज्ञप्ति
प्रतिक्रिया 4