
काठमाडौं । मण्डला थिएटरले आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा २२ देशका ८४ वटा नाटक प्राप्त भएका छन् । महोत्सव संयोजक विजया कार्कीका अनुसार प्राप्त नाटकमध्येबाट अन्तिम सूची बनाउने काम भइरहेको छ ।
नेपालबाट मात्रै १८ वटा नाटक प्राप्त भएका छन् । अमेरिका, रुस, जापान, इटाली, स्पेन, इजिप्ट, नाइजेरिया, श्रीलंका, बंगलादेश, पाकिस्तान, पोल्यान्ड लगायतका मुलुकबाट नाटक आएका हुन् ।
‘सूचीलाई अन्तिम रुप दिन हामीले प्राविधिक टिमबाट कम्फर्मेसन कुरिरहेका छौं,’ कार्कीले अनलाइनखबरसँग भनिन् ।
थापागाउँस्थित मण्डलाका दुईवटै नाटकघरमा नाटक मञ्चन हुने जनाइएको छ । फेस्टिभलका लागि विशेष अतिथि सरकारी पहलमा भारतबाट ल्याउने तयारी भइरहेको कार्कीले बताइन् ।
नोभेम्बर २५ देखि डिसेम्बर २ सम्म हुने फेस्टिभलको दोस्रो संस्करण हुन लागेको हो । यसअघि कोरोना महामारीका कारण फेस्टिभल आयोजनामा ढिलाइ भइरहेको थियो । यसपटक महोत्सवको थिम ‘थिएटर फर सोसल ट्रान्सफर्मेसन : सेलिब्रेटिङ डाइभर्सिटी’ राखिएको छ ।
प्रतिक्रिया 4