
काठमाडौं । कार्म र मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्मलाई मोहन राईले निर्देशन गरेका हुन् ।
सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विश्व प्रिमियर भएको ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ । साथै इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ ।
‘महानगर’ले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।
माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको ‘महानगर’को लेखन निर्देशक राईले नै गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।
फिल्म चाँडै नै प्रदर्शनमा ल्याउन तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताए ।
प्रतिक्रिया 4