+
+

हरेक पालिकामा ग्रील ग्रामको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १९:३०

२८ साउन, बुटवल । ग्रील तथा स्टील व्यवसायीहरुले हरेक पालिकामा व्यवस्थित ग्रील ग्राम स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

छरिएर व्यवसाय गर्दा अव्यवस्थित, अस्वस्थ प्रतिस्पर्धा र दर्ता बिना चलेका व्यवसायबाट राज्यको कर छली भएकाले ग्रील ग्राम आवश्यक भएको व्यवसायीको माग छ ।

ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको ‘ग्रील ग्रामको आवश्यकता र महत्व’ विषयक अन्तर्क्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन् ।

स्थानीय तहमा रहेका खाली वा उपयोगविहीन जग्गाको सदुपयोग गरी ग्रील ग्राम स्थापना गर्न सके वातावरणीय र शहरी सौन्दर्यका हिसाबले नमूना हुनुका साथै मूल्यमा एकरुपता भई उपभोक्ता समेत लाभान्वित हुने व्यवसायीको भनाइ छ । ग्रील ग्राम नहुँदा विना दर्ता सञ्चालित व्यवसायीका कारण राज्यलाई कर तिर्ने व्यवसायीहरु संकटमा परेको र राज्यको ठूलो मात्रामा कर गुमेको व्यवसायीको गुनासो छ ।

देशभर ११ हजार ग्रील उद्योगमा एक लाख ६० हजारले रोजगारी पाएका र वार्षिक ६५ अर्बको कारोबार हुने गरेपनि ग्रील ग्राम स्थापनामा सरकारले बेवास्ता गरेको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।

रुपन्देहीमा व्यवसायीहरुले वर्षौंदेखि ग्रील ग्रामको माग गरेपनि सुनुवाइ नभएको ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष अशोक वर्माले गुनासो गरे ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलकमा ग्रील तथा स्टिल व्यवसायीको योगदान महत्वपूर्ण रहेको भन्दै व्यवसायीका माग पूरा गर्न आफूले पहल गर्ने बताए । ग्रील ग्रामका लागि सरकारले जग्गा उपलब्ध गराउन सहयोग गर्नुपर्ने पौडेलको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायीका माग उचित रहेका भन्दै छलफल गरेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

रुपन्देहीमा ४ सय ८५ ग्रील उद्योग सञ्चालनमा रहेका र ५ हजार बढीले रोजगारी पाएका तथा वार्षिक २ अर्ब ४० करोडको कारोबार हुने गरेको संघका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?