
काठमाडौ । गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’को बिमोचन भएको छ । राजधानीमा आयोजित कार्यक्रममा गायकहरु गणेश रसिक, राजेशपायल राई र अभिनेता दयाहाङ राई लगायतले एल्बम बिमोचन गरे ।
साथै रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले पनि बिमोचनमा साथ दिए । एल्बम बिमोचनपछि गायक राईले २ गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए ।
पहिलो एल्बमको बारेमा बोल्दै करणले भने : ‘सानै उमेरदेखी गाउँथे, आज आएर पहिलो एल्बम बिमोचन गर्न पाउदा चङ्गाजस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ बाल्यकालदेखी नै गीत संगीतमा चासो राख्ने करण अमेरिकादेखि नेपाल फर्किएर एल्बम बजारमा ल्याएका हुन् ।
गायक रसिकले राईलाई शुभकामना दिँदै अहिले र पहिलेका गीतसंगीतको अन्तर र सहजताको बारेमा प्रष्टाएका थिए । भुटानी शरणार्थी शिविरमा जन्मिएका करणको बाल्यकाल सम्झिदै राजेशपायलले भने ‘जन्म कहाँ छ फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठूलो महत्व राख्छ ।’
सार्वजनिक एल्बममा ९ गीत समावेश छन् । सबै गीतमा करणको स्वर समावेश छ । डोएट गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । एल्बमका गीतमा क्रमशः प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ भने देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।
प्रतिक्रिया 4