
२९ साउन, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार (२६ साउन) प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।
मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतले निर्देशनात्मक आदेश दिएपछि यसअघि तय भएको उनको शपथ कार्यक्रम रोकिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले उच्च अदालत सुर्खेतको निर्देशनात्मक आदेशको बेवास्ता गर्दै मन्त्री शाहीलाई शपथ खुवाएको छ ।
उच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै कर्णाली सरकारलाई पत्र लेखेको थियो । वीरबहादुर शाहीलाई मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व नहुने भन्दै अधिकारकर्मीदेखि प्रदेशसभा सदस्यहरूले समेत आपत्ति जनाइरहेका थिए ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई मन्त्री बनाइएको हो ।
कर्णालीमा तीनदलीय गठबन्धन सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल छन् ।
प्रतिक्रिया 4