
२९ साउन, गोरखा । नेपाल जेसीज क्षेत्र ‘ख’ को सम्मेलन गोरखामा हुने भएको छ । यही भदौ ३ र ४ गते हुने सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।
गोरखा जेसीजले आइतबार पत्रकार सम्मेलन गरी नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको प्रचण्डले उद्घाटन गर्ने जानकारी दिएको छ । सदरमुकामस्थित गोरखा संग्रहालय परिसरमा हुने कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तर्गत रहेका विभिन्न शाखाहरुको उपस्थिति रहने सम्मेलन संयोजक भगवानबाबु मास्केले बताए ।
‘विभिन्न जिल्लामा गरी हाम्रो ४९ वटा शाखा छन्’, उनले भने, ‘सबै गर्दा ६ सय जनाभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौं ।’
दुई दिनसम्म चल्ने सम्मेलनमा प्रकरण गोष्ठी, विभिन्न तालिम, बैठक र सम्मानका कार्यक्रमहरु हुने उनले जानकारी दिए । जिल्लाका पर्यटकीय स्थलको दृष्यावलोकन सँगै विभिन्न जातजातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम एवं झाँकी प्रर्दशन पनि हुने बताइएको छ ।
आन्तरिक तथा बाह्य रुपमा जिल्लाको परिचय गराउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले गोरखामा कार्यक्रम गर्न लागिएको मास्केले बताए । शाखा अध्यक्षहरुलाई निपूर्ण बनाउने र जुनियर जेसीज क्षमता अभिवृद्धि गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको गोरखा जेसीजले बताएको छ । सम्मेलन गर्न करिव ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4