
२९ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।
खराव ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ थियो ।
आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अबिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे ।
मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भए पनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोश समेत व्यक्त गरे ।
सांसद सुवालले सरकारमा गईसकेका राजनीतिक दलहरुको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवाधुलो र प्रदुषणको समस्या समाधान गर्न नसक्ने दावी समेत गरे ।
‘काठमाडौंमा देखिएको धुवा, धुलो, जाम र फोहोरको समस्या कुनै पनि प्रधानमन्त्रीले समाधान गर्न सक्नु भएन । यो समस्याको समाधान सरकारमा गएका राजनीतिक पार्टीहरुबाट कहिल्यै हुनेछैन । यो जनताको अभिमत हो,’ उनले भने, ‘सरकार खराव ठेकेदारदेखि डराउने, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराउने यस्तो सरकारको औचित्य नभएको जनताको गुनासो व्यापक छ । मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको, धनि भनाउँदाहरुले गरिवमाथि गरेको अत्याचार हो यो । सरकार नालायक भएपछि अत्याचार बढेको हो ।’
सांसद सुवालले सांसदहरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानबिन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले भने, ‘३२ वर्षयता बहुदलवादी दावी गरेकाहरुकै सरकारमा मिटरव्याजी साहुहरुको राज चलेकोमा जनताको ठूलो विरोध छ । नेपालका बैंकहरुले ४० खर्ब कर्जा प्रवाह गरेकोमा १ सय परिवारको कब्जामा ३० खर्ब रुपैयाँ रहेको र त्यसमध्ये केही वर्तमान संसदमा सदस्यहरुसमेत त्यसरी कर्जा कब्जा गर्नेमा रहेको समाचार पनि छ । यो ऋण प्रवाहको छानवीन हुन जरुरी छ ।’
प्रतिक्रिया 4