
काठमाडौं । भदौ ३ गतेदेखि रिलिज हुने फिल्म ‘माइकल अधिकारी’ कथावस्तुलाई लिएर चर्चामा छ । सरोगेसीको कथामा निर्माण भएको फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।
रिलिज मिति नजिकिंदै जाँदा फिल्मको प्रचारलाई तीव्र बनाइएको छ । कलाकार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको समूहले शनिबार र आइतबार प्रदेश १ को विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलन तथा कन्सर्ट गरेको छ ।
विर्तामोडको वान स्टप मल र विराटनगरको सेन्ट्रल मलमा आयोजना गरिएको कार्यक्रममा कलाकारले फिल्मको गीतमा प्रस्तुति दिए । पत्रकार सम्मेलनमा बोल्दै सौगातले फरक कथामा बनेको ‘माइकल अधिकारी’मा मनोरञ्जनको डोज भएको बताए ।
झापा र इलाममा छायांकन गरिएकाले पनि पूर्वेली दर्शकले फिल्ममा अपनत्व महसुस गर्न सक्ने सौगातको भनाइ थियो । निर्माता पौडेलले हाम्रै समाजको कथा भएकाले फिल्म हेरेर दर्शक निराश नहुने बताए ।
‘सेरोगेसीको बिल्कुलै नयाँ कथामा परिवार बसेर मनोरञ्जन लिन सक्नु हुनेछ । मनोरञ्जनको हकमा यसले निराश बनाउँदैन,’ उनले भने । रञ्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टि दम्पतीको भूमिकामा छन् । पैसाको लागि मातृत्व बेच्ने एक गरिब दम्पतीको कथा यसले पेश गर्छ ।
फिल्ममा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलीप बोहरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार लगायतको अभिनय छ ।
प्रतिक्रिया 4