
२९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनबारे चासो देखाएको छ । फोहोरकै कारण कुनै पनि बेला महामारी फैलिनसक्ने भन्दै गठबन्धनमा आवद्ध दलहरुले टुलुटुलु हेरेर नबस्न सरकारलाई आग्रह गरेको हो ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । ‘महानगरले कुनै कदम चाल्दैछ भने त्यसमा सहयोग गर्नुस्, संघीय सरकारले कुनै हस्तक्षेप गर्न आवश्यक छ भने गर्नुपर्यो । यसरी हेरेर बस्नु भएन भन्ने छ’, गठबन्धनका एक नेताले भने ।
बैठकले महंगी नियन्त्रणका लागि बजार अनुगमन लगायतका संयन्त्र प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गरेको छ । साथै सिट बाँडफाँटका लागि बनेको कार्यदललाई छिटो काम सक्न समेत भनिएको एक नेताले बताए ।
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तारुढ दलहरुले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाएका छन् । साउन अन्तिम साताभित्र प्रतिवेदन बुझाउन भनिएको थियो, तर कार्यदलले यसबीचमा जम्मा दुई वटा बैठक गरेको छ र, कुनै ठोस सहमति जुटाएको छैन ।
प्रतिक्रिया 4