
३० साउन, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति लोकतान्त्रिक समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ । साथै उक्त पार्टीले नागरिकता विधेयकलाई अबिलम्ब पारित गराउन सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गर्दा झन् बढी जटिलता आउने खतरा औंल्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताको अभावमा लाखौं नेपाली नागरिक राज्य विहीनताको अवस्थामा रहेको, उच्च शिक्षा हासिल गर्ने देखि रोजीरोटीको समस्या, नोकरी, व्यापार- व्यवसायको समस्या, विदेश भ्रमण, वैदेशिक रोजगार, मतदानलगायतको दैनिक समस्याबाट समेत दिनानुदिन सामना गर्नुपरिरहेको अवस्थामा नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता गरिएकोमा झन् बढी जटिलता थपिएको छ ।’
राष्ट्रपतिको कदमबाट मधेश लगायत देशका विभिन्न भागमा रहेका नागरिक चिन्तित र निराश भएको अध्यक्ष ठाकुरले बताएका छन् । नागरिकताको समस्या बेलामा समाधान नभए असन्तुष्टि बढ्दै जाने र त्यसले समस्या थपिँदै जाने लोसपाले उल्लेख गरेको छ ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4