
३१ साउन, काठमाडौं । ललितपुरको यूएन पार्क नजिकै मणिडोल छिर्ने चोकको सडक किनारमा फोहोर थुप्रिएको ३ महिनाभन्दा बढी भयो । स्थानीयले सडक किनारमा फोहोर फाल्न नदिन रात्री गस्ती समेत गरेका थिए । जरिवाना गराउँदा पनि फोहोर फाल्न रोकिएन ।
ललितपुर महानगरपालिकाले फोहोर उठाउन चासो पनि दिएन । मणिडोल टोल सुधार समितिका पदाधिकारीहरु वडा नम्बर ११को कार्यालय, महानगरपालिकाको कार्यालयसहित विभिन्न निकायमा गुनासो गरे ।
तर, सधैं एक हप्ताभित्र उठाउने आवश्वासन दिंदादिदै महिनौं बित्यो ।
मंगलबार बंगलामुखी मन्दिरतर्फ जाने सडकको चोकमा स्थानीयले बाटो नै अवरुद्ध हुने गरी फोहोर थुपारे । त्यसको प्रतिरोध गर्दै स्थानीयले सोमबार रातिबाटै सडकमा फोहोर थुपारेर विरोध जनाएका हुन् । तुरुन्तै फोहोर उठाउन माग गर्दै उनले बाटो अवरुद्ध गरेका हुन् ।
स्थानीयको अवरोधलाई त प्रहरीले हटाएको छ । तर सडक किनारमा थुप्रिएको फोहोर त्यत्तिकै छ । सडकभरि फोहोर असरल्ल छन् ।
मंगलबार साँझसम्म पनि फोहोर नउठाए यूएनपार्कबाट शंखमूलतर्फ जानेसहित स्थानीय क्षेत्रका सबै बाटो बन्द गर्ने स्थानीय बासिन्दाको चेतावनी छ । उनीहरुले फोहोर नै राखेर बाटो अवरुद्ध गरिने बताएका छन् ।
प्रतिक्रिया 4