
१ भदौ, काठमाडौं । बेरोजगार भएर घरमै रहेका सर्लाहीकी रुकमनी चौधरीका छोरा वैदेशिक रोजगारीमा जान चाहन्थे । रुकमनी र उनका श्रीमान रामकैलाश चौधरीले ४ वर्ष पहिले श्याम प्रदेशी (श्यामकरण साह) को घरमा गए र साढे ४ लाख रुपैयाँ ऋण मागे ।
प्रदेशीले उनीहरुलाई नागरिकता छाडेर जान र २/३ दिन पछि आउन निर्देशन दिए । प्रदेशीले भनेको दिन जाँदा उनले तमसुकमा सही छाप गराए ।
उनीहरुले ‘कागजमा के लेखिएको छ’ भनी सोधे । जवाफमा प्रदेशीले ‘तिमीहरुले लिएको पैसाको बारेमा लेखिएको छ’ भन्दै कागज आफ्नो साथमा राखे र रकम दिए ।
कतार पुगेका चौधरी दम्पतीका छोराले हरेक महिना २२ हजार ५ सय रुपैयाँका दरले २० महिनासम्म ४ लाख ५० हजार रुपैयाँ बुझाए । अनि ५० हजार रुपैयाँका दरले ६ पटकमा थप ३ लाख बुझाए । हालसम्म उनीहरुले श्याम प्रदेशीलाई साढे ७ लाख रुपैयाँ बुझाइसकेका थिए ।
अब उनीहरुले प्रदेशीसँग पैसा लिँदा राखेको कागज फिर्ता माग्न थाले । उनले ‘अर्को दिन आउनु’ भनी चौधरी दम्पतीलाई फर्काइदिए । ६ भदौ २०७६ मा कागज फिर्ता माग्दा प्रदेशीले उनीहरुलाई ५६ हजार ५ सय रुपैयाँमात्रै बुझाएको र साँवा व्याजसहित ३६ लाख रुपैंयाँ बाँकी रहेको बताए । रुकमनीले भनिन्, ‘तपाईंले दिएको पैसा पटक पटक गरी चुक्ता गरी सकेको छौं ।’
जवाफमा श्याम प्रदेशीले भने, ‘तपाईहरुले १२ लाख छुट्टाछुटै ३ वटा तमसुक कागज बनाउनु भएको छ । पैसा तिर्नुभएको छैन ।’ त्यसपछि चौधरी दम्पतीले आफूहरु ठगिएको महसुस गरे । अनि आफूहरु निरक्षर भएको फाइदा साहुले उठाएको भनी ठगी र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा प्रहरीमा उजुरी दिए । उनीहरुले प्रहरीलाई बताए अनुसार, ऋण लिने बेलामा तयार पारिएको कागजातबारे उनीहरुलाई थाहै थिएन ।
****
योगनारायण धामी अर्का त्यस्तै पीडित हुन् । उनले २०५६ सालमा ४ कट्ठा १० धुर जग्गा श्याम प्रदेशीका नाममा पास गरेर २ लाख रुपैयाँ ऋण लिए र तिरे । पछि फेरि ऋण माग्न जाँदा योगनारायणको नाममा रहेको जग्गा आफ्नी छोरी इला र श्रीमती मञ्जुदेवीको नाममा पास गर्न लगाए ।
बाबु बिरामी भएका कारण २ लाख ७० हजार रुपैयाँ ऋण लिएका योगनारायणले पटकपटक गरी ६ लाख रुपैयाँ तिरिसकेका छन् । तर, श्यामले जग्गा फिर्ता दिएनन्, बरु अर्कैको नाममा पास गरे ।
****
पुरुषोत्तम कुमार मण्डलको अवस्था पनि उस्तै छ । आफ्ना दाई शिविन्द्रकुमार मण्डललाई अध्ययनका लागि भारतको बैंगलोर पठाउन पुरुषोत्तमलाई ४ लाख रुपैयाँ ऋण चाहिएको थियो ।
ऋण मागेपछि जवाफमा श्यामले सोझै भने, ‘रकम दिन्छु, तर सो वापत तपाईले कपाली तमसुक कागज र जग्गा समेत मेरो नाममा पास गर्नुपर्छ । साँवा र व्याज समेत चुक्ता गरिसकेपछि मात्र कागज र जग्गा फिर्ता गरिदिन्छु ।’
पुरुषोत्तमका बाबु सहमत भए । श्याम प्रदेशीले १२/१२ लाख ऋण लिएको भनी दुईवटा तमसुक गराए, अनि १३ कट्ठा जग्गा छोरीका नाममा पास गरे । दुई वर्षको अवधिमा उनीहरुले साँवा र व्याज गरी ७ लाख ५८ हजार रुपैयाँ बुझाए ।
त्यसरी रकम बुझाएपछि प्रदेशीले घरबाट नक्कली तमसुक झिकेछन् र पुरुषोत्तमका बाबुको अगाडि च्यातेछन् । त्यसपछि पुरुषोत्तमको परिवारले जग्गा फिर्ता माग्न थाल्यो । जवाफमा प्रदेशीले ‘जग्गा मेरै नाममा रहेपनि केही फरक पर्दैन । पछि फेरि पैसा चाहिँदा दिन्छु’ भनी जवाफ दिए ।
प्रदेशीले आफ्नो नाममा ल्याएको जग्गा अर्कैलाई बेचिसकेको थाहा पाएपछि पुरुषोत्तमको परिवार विवाद गर्न गयो । त्यसपछि प्रदेशीले आफूले लुकाइ राखेको पुरानो तमसुक निकाले र जिल्ला अदालत सर्लाहीमा लेनदेनको मुद्दा हाले । केही सीप नलागेपछि पुरुषोत्तमको परिवारले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीमा जाहेरी दिएको हो ।
गाउँ नै पीडित
सर्लाहीको मलंगवा नगरपालिका– ४ बस्ने ६१ वर्षीय श्याम प्रदेशी (श्यामकृष्ण साह) ले यही शैलीमा ऋण दिने र त्यसको साँवा ब्याज असुली गर्दा जिल्ला र वरपरका कयौं व्यक्तिहरुको उठीबास लगाएको खुलेको छ ।
फर्जी कागजात बनाउने, ऋण फिर्ता गर्दा समेत तमसुक नच्यात्ने र नक्कली तमसुक च्यातेर सक्कली लुकाउने अनि पछि मुद्दा हाल्ने उनको स्वभावका कारण कयौं स्थानीय बासिन्दा र ऋणीहरु पीडित बनेका छन् ।
पीडित उपेन्द्र राय यादवका अनुसार, उनी र छोरीको नाममा श्याम प्रदेशीले फरक फरक कागजातमा सही छाप गराएर १ लाख ३० हजार रुपैयाँ ऋण दिएका थिए । उनले पटकपटक गरी १० लाख ५० हजार तिरे । पछि उनले फेरि ४ लाख रुपैयाँ ऋण लिए ।
तर प्रदेशीले २० र २५ लाख रुपैयाँका दुईवटा तमसुक गराए । अनि ऋण तिर्न नसकेको भनी सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा हाले । उनीहरुले आफ्नो जग्गा लिलाम गरेर ऋण तिरेका थिए ।
गैरकानूनी सम्पत्ति आर्जनका घटनामाथि अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार पारेको प्रतिवेदन अनुसार, श्यामले आफू, पत्नी मञ्जु देवी, छोरी इला र ज्वाई रामबाबु प्रसादको नाममा कयौं ऋणीहरुलाई ठगेको भेटिएको छ । उनले सर्लाहीमा मात्रै करिव ३ सय परिवारलाई यसरी ऋण दिएका थिए ।
पीडितहरुका अनुसार, ऋण लगानी गर्ने र त्यसको प्रतिफल असुल्ने प्रदेशीको शैली अचम्मको छ । अप्ठेरो परेका गाउँलेहरुलाई ऋण लगानी गर्ने उनले सुरुमा नै जग्गा आफ्नो नाममा पास गर्न लगाउँछन् । साथै, दुईथरि कीर्ते तमसुक तयार गर्छन् । अनि ब्याजमाथि स्याज (चक्रीय व्याज) मार्फत चर्को असुल्छन् । यति गर्दा समेत ऋणीले ऋण तिरेमा एउटामात्रै तमसुक च्यात्छन् र अर्को तमसुकको बलमा थप रकम असुल्ने प्रयास गर्छन् ।
स्थानीय सोनफी चौधरीका अनुसार, श्याम प्रदेशीले सर्लाहीका ३ सय जति घरपरिवारलाई ऋण लगानी गरेका छन् । उनीहरुसँग प्रदेशीले एक लाखदेखि ३१ लाखसम्म ऋण लिएका कागज गराएर राखेका छन् ।
प्रदेशीले कयौंका विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएका छन् । ऋणीलाई थाहै नदिई उनले आफ्नै किसिमबाट मुद्दाको फैसला गराउने, त्यसका आधारमा जग्गा लिलामी गराउने अनि घरबारविहीन बनाउने गर्छन् ।
ऋणीले ऋण तिर्न नसकेमा अनि ऋण तिर्नेजति सम्पत्ति नभए जेल जानुपर्ने हुन्छ । कयौ पीडितहरु प्रहरीको फन्दामा पर्ने डरले लुकेर बसेको पीडित चौधरीको भनाइ छ । सर्लाही लालबन्दीका कल्पनाथ चौधरी ऋण तिर्न नसकेको र ऋण बराबरको सम्पत्ति पनि देखाउन नसकेका कारण ३ महिना सुनसरीको झुम्का कारागारमा बसे । उनले पछि श्याम प्रदेशीलाई घडेरी बेचेर ५ लाख रुपैयाँ बुझाए, अनि थुनामुक्त भए ।
मिटरव्याजी प्रदेशीविरुद्ध १५ साउन २०७५ देखि नै उजुरी पर्न थालेको थियो । २७ माघमा अर्को उजुरी पर्याे । आफ्नो, श्रीमती अनि छोराछोरी र ज्वाईंका नाममा समेत ऋण लगानी गर्ने, किर्ते तमसुक बनाएर पटकपटक ऋण असुलेका कारण कयौं किसान घरबारविहीन भएको भनी उजुरी परेपनि गृह मन्त्रालयले न छानबिनमा चासो देखायो, न मातहतका निकायलाई अनुसन्धान गर्न निर्देशन दियो ।
जे पनि गर्थे प्रदेशी
तुलनात्मक रुपमा बोल्न नसक्ने र सोझा ऋणीहरुलाई प्रदेशीले केही बाँकी राख्दैनथे । पीडित सुजिया देवी चौधरीका अनुसार, प्रदेशीले ऋणको ५ गुणासम्म बढी रकम लेखेर कीर्ते तमसुक तयार पारेका थिए । रकम लिन घरमै बोलाउने उनले कहिलेकाहीँ चाहिएकोमध्ये आधा रकम दिन्थे तर सबै रकमको तमसुक बनाउथे र ३ महिनाको व्याज पहिले नै असुल्थे ।
अनि आफूले खाएको खाजा खर्च र लेखनदासको लेखाई खर्च भनेर थप ३ हजार रुपैयाँ सुरुमै कटाउथे । बाँकी रहेको ऋण लिन जाँदा अनि अर्को दिन पनि पैसा दिदैनथे । उनले कतिपयलाई यौन दुव्र्यवहार गरेको (करणी उद्योग) समेतको उजुरी परेका थिए ।
‘आफ्नो डायरीमा असुल भयो भनी हामीलाई देखाउने गरी लेखी अर्को दिन कागज फिर्ता दिउला भन्दै हामीसँग सबै सावा व्याज पटक पटक गरीबुझी लगेको’ पीडित सुजिया देवी चौधरीले भनेकी छन्, ‘केहीसँग नपुग रकममा गर गहना तथा चामल दालसमेत लिई लगेको छ । हाम्रो कागज लिखत फिर्ता माग्दा आज भोलिमा दिन्छु भन्दै आलटाल गरिरहे ।’
श्याम प्रदेशीका छोरा सुजय साह बंगलादेशमा एमबीबीएस पढ्न गएका छन् । उनले छोरामाथि गरेको लगानीमै प्रश्न उठेको थियो । आफ्नो अपराध लुकाउन उनले आफू र छोराबीच २ असोज २०५८ मै अंशवण्डा भएको कागजात देखाएका थिए ।
उनी र पत्नी मञ्जुदेवीबीच ३१ असार, २०७५ मै कानूनी रुपमा अंशवण्डा भएको कागजातबाट देखिन्छ । सम्पत्ति शुद्धीकरण विभागमा उनकी पत्नीले यसको पोल खोलिन् । मञ्जु देवीले बयानमा भनेकी छन्, ‘अंशवण्डा भएपनि हामी व्यवहारिक रुपमा सँगै बस्छौं ।’
छानबिनको दायरामा परेपछि प्रदेशीले आफ्नो नाममा ३/४ विघा र पत्नीका नाममा पनि त्यति नै जग्गा रहेको बताए । खेतीपातीको उब्जनी, लेखापढी र ३०/३५ वर्षदेखि गाउँघरमा गरेको लगानीबाट आएको आम्दानीले आफ्नो जीविका चलेको उनको दावी छ । उनले बयानमा भनेका छन्, ‘गाउँघरका मानिसहरुलाई आवश्यकता भए अनुसार कानूनी प्रक्रिया अनुसार लगानी गरेको हुँ ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले श्याम प्रदेशीले किनबेच गरेको सम्पत्ति र कयौं कारोबारको रकम अनुसन्धानको दायरामा आएको देखिदैन । उनले कयौं ऋणसँग रकम असुलीका क्रममा जग्गा आफ्नो नाममा लिएर पछि बेचेका थिए । उनी विरुद्धको उजुरीमा ‘गैरकानूनी रुपमा जायजेथा राजीनामा पास गराई करोडौंको सम्पत्ति जोडेको’ उल्लेख छ ।
छानबिनको दायरामा परेकी श्याम प्रदेशीकी पत्नी मञ्जुदेवीको नामबाट पनि कयौं किसानहरुमाथि ऋण प्रवाह भएको छ । उनको नामबाट पतिले सबै काम गर्ने भएकाले उनलाई केही अत्तोपत्तो छैन । बयानका क्रममा उनले ‘व्याज, पेवा र अन्य आयबाट लगानी गरेको’ प्रतिक्रिया दिइन् । उनले भनेकी छन्, ‘हालसम्म मैले के कति जनालाई ऋण लगानी गरेँ, याद भएन । १० प्रतिशत मात्रै व्याज लिन्छु ।’
छानबिनको दायरामा परेपछि प्रदेशीको परिवारले आफ्नो सम्पत्ति देखाउन अनेक ठाउँबाट ऋण लिएको देखाउन थाले । प्रदेशीकी पत्नी मञ्जुदेवीले घरव्यवहार चलाउन पटकपटक गरी ३७ लाख रुपैयाँ ऋण लिएको बताइन् ।
प्रदेशीकी छोरी इलाले आफूलाई बाबु र लोग्ने दुवैबाट अंश प्राप्त भएको बताइन् । उनले ५० लाख रुपैयाँ ऋण रहेको र त्यो तिर्नुपर्ने बताइन् । छोराले एमबीबीएस पढ्दा आफ्न्तले ऋण सापटी दिएको बयान दिए ।
बैंकबाट भन्दा ज्यादा नगदी कारोबार गरेको हुनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रदेशीले ठगेको एक करोड ५३ लाख रुपैयाँमात्रै ट्रयाक गर्न सक्यो । विभागले प्रदेशीमाथि प्रश्न गर्दै ‘आफैंले कहाँ के कति अन्य रकम लगानी गरेको छ भन्ने अवस्था समेत बयानमा स्पष्ट खुलाउन नसकेको’ औंल्याएको छ । उनको खातामा भने पुगनपुग ७८ सय रुपैयाँमात्रै थियो ।
प्रदेशी विरुद्ध ठगी, अपराधिक विश्वासघात अनि अपराधिक लाभ सम्बन्धी आरोपमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रदेशी विरुद्ध गैरकानूनी आर्जन र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । विभागले उनीमाथि विभिन्न पीडितहरुलाई ठगी गरी आर्जन गरेको रकमको कारोबार सहज बनाउन सगोलमै रहेकी श्रीमती एवं छोरालाई फरक–फरक मितिमा अंशवन्डा गरिदिएको औंल्याएको छ ।
विभागको दावी अनुसार, एक करोड एक लाख रुपैयाँ लगानी गरेका प्रदेशीले ब्याजका नाममा थप एक करोड ५३ लाख कुम्ल्याए र २ करोड ५५ लाख रुपैयाँ आर्जन गरे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनकी पत्नी मञ्जुदेवीविरुद्ध समेत मुद्दा दायर गरेको छ । दुवैजनाको आर्जन सहित खातामा रहेको रकम, घरमा भएको लगानी समेत जोडेर ३ करोड २० लाख रुपैयाँ गैरकानूनी आर्जनको अभियोग लगाएको छ ।
प्रतिक्रिया 4