
२ भदौ, काठमाडौं । चीनको विरोधकाबीच पनि अमेरिका र ताइवानबीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवानबीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास पनि गरेको थियो ।
पेलोसीको भ्रमणपछि चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यस लगत्तै अमेरिका र ताइवानबीच व्यापार सम्झौताका लागि वार्ता सुरु भएको हो । एक चीन नीतिलाई माने पनि अमेरिकाले चीनले आफ्नो एक हिस्सा मान्दै आएको ताइवानसँग छुट्टै सम्झौता गर्न लागेको हो ।
अमेरिकाका अनुसार प्रारम्भिक वार्तामा व्यापारमा सहुलियत, डिजिटल ट्रेड र भ्रष्टाचार नियन्त्रणबारे कुराकानी हुने छ । २१ औ शताब्दीको व्यापारका लागि भन्दै गत जुनमा अमेरिका ताइवान इनिसिएटिवको घोषणा भएको थियो । त्यो घोषणा कार्यान्वयनका लागि नै अहिले वार्ता सुरु भएको हो ।
अमेरिकी उपव्यापार प्रतिनिधि सारा बियान्चीले निष्पक्ष, समृद्ध तथा उदार अर्थव्यवस्थाका लागि आफूहरुले समयसीमामै रहेर काम गर्ने बताएकी छिन् । ताइवान र अमरिकाबीच यसअघि पनि व्यापार हुने गरेको थियो । सन् २०२० मा दुई देशबीच १०६ अर्ब डलरको व्यापार भएको थियो ।
प्रतिक्रिया 4