
५ भदौ, सप्तरी । कोशी ब्यारेज लागूऔषध गाँजाका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ । ६ महिनायता यो ठाउँबाट तीन पटक लागूऔषध गाँजा बरामद भएको छ ।
पछिल्लो पटक यहाँबाट सशस्त्र प्रहरीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजको पटेरघारीमा लुकाएको अवस्थामा नौ वटा पोकामा गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेश भारदहबाट प्रहरी निरीक्षक उमेश कुमार आलेको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । बरामद भएको गाँजा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय, राजविराजमा बुझाइएको छ ।
यसअघि ७ असारको राति यहीं ठाउँबाट लागूऔषध गाँजासहित एक ट्रकलाई नै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । को.१ख २९२५ नम्बरको ट्रकलाई चेक गर्दा १७५ किलो गाँजा बरामद भएको थियो ।
१२ चैत २०७८ मा ब्यारेज नजिकै कंकालिनी मन्दिरदेखि २ किलोमिटर दक्षिणतर्फ कोशी नहरको झाडीमा लुकाएर राखिएको अवस्थामा ७८ किलो गाँजा सशस्त्र प्रहरीले नै बरामद गरेको थियो ।
‘यो ठाउँ गाँजाका लागि ट्रान्जिट प्वाइन्टजस्तै देखिएको छ’ सशस्त्र प्रहरी उपरीक्षक खड्का भन्छन्, ‘हामी यो क्षेत्रलाई कड निगरानीमा राखेका छौं ।’
प्रतिक्रिया 4