
काठमाडौं । शाकाहारी ग्राहकलाई लक्षित गरी ठमेलको सातघुम्ती चोकमा प्लेसेस रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । भेजिटेरियन र भिगन ग्राहकका लागि ठमेलमा उपयुक्त रेस्टुरेन्ट नगन्य रहेको बेला तीन जना युवाले मिलेर यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रेस्टुरेन्टको डिजाइन आधुनिक र मौलिक दुवै शैलीलाई अपनाएर गरिएको छ भने १३० जनाले एकैपटकमा सेवा लिन सक्नेछन् । प्लेसेसमा विशेषगरी पम्पकिन मःम, मसरुम पनिर छोइला, एभोकार्डो सलाद, काउली स्टिक, भिगन केक, भिगन पिज्जा लगायत पूर्ण शाकाहारी खानेकुराको स्वाद लिन सकिने सञ्चालकले जानकारी दिए ।
प्लेसेस रेस्टुरेन्टमा उत्तम लामिछाने, प्रदीप श्रेष्ठ र श्याम हुमागाईंको लगानी रहेको छ । भर्खरै सञ्चालनमा आएको रेस्टुरेन्टमा हालसम्म झण्डै एक करोड रुपैयाँ लगानी भएको सञ्चालक उत्तम लामिछानेले बताए । तीनै जना सञ्चालक यसअघि रेस्टुरेन्ट व्यवसायकै क्षेत्रमा विभिन्न काम गदै आएका थिए ।
‘पछिल्लो समय भिगन जीवनशैली अपनाउनेहरुको संख्या बढ्दै गएको पाइएको छ । ठमेल पर्यटकीय क्षेत्र भएकाले विदेशी पर्यटकले आफूले खोजेजस्तो भेजिटेरियन र भिगन रेस्टुरेन्ट पाइरहेका छैनन्, ‘लामिछानेले भने, ‘प्लेसेसले त्यो अभावलाई परिपूर्ति गर्न भूमिका खेल्छ भन्ने लाग्छ ।
बिहान ८ बजेदेखि राति ११ बजेसम्म खुल्ने रेस्टुरेन्टमा लन्च, डिनर र सबै किसिमका पेय पदार्थ पनि उपलब्ध हुने उनले बताए ।
प्रतिक्रिया 4