
९ भदौ, काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ ।
एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको अध्यक्ष रामकृष्ण सेढाईंले जानकारी दिए ।
पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष हुन् । पोखरेल कानुन व्यवसायी हुन् ।
अब यो सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुने छ । यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं क्षेत्र नम्बर ५ एकीकृत समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।
यसैगरी संघमा समानुपातिकतर्फ अष्टनारायण डंगोलको नाम सिफारिस गरिएको सेढाईंले जानकारी दिए ।
यसैगरी प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ (क) मा प्रत्यक्षतर्फ हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा र समानुपातिकमा सानुमैया सुवेदी सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर ५ -ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेका छन् ।
समानुपातिकमा देवराज डंगोलको नाम सिफारिस गरेको सेढाईंले जानकारी दिए ।
काठमाडौं ५ मा स्थानीय तहमा एमाले पहिलो शक्ति बनेको छ । एमालेले १९ हजार ७०३, कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकीकृत समाजवादी १ हजार ८२७, माओवादीले १ हजार १६८ र जसपाले ५८ मत पाएका छन् ।
प्रतिक्रिया 4