+
+
लगानीयोग्य स्रोत अभाव :

बढ्दैछ बैंकलाई क्रेडिट कार्डको ऋण नतिर्नेको संख्या

बैंकहरुमा पनि क्रेडिट कार्ड प्रयोग गर्नेहरुले समयमै त्यस बापतको ऋण नतिर्ने समस्या (डिफल्ट रेट) बढ्दै गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २२:०३

९ भदौ, काठमाडौं । बैंकहरुमा पनि क्रेडिट कार्ड प्रयोग गर्नेहरुले समयमै त्यस बापतको ऋण नतिर्ने समस्या (डिफल्ट रेट) बढ्दै गएको छ । बैंकले आफूले विश्वास गरेका ग्राहकलाई क्रेडिटकार्डमार्फत सानो रकमको ‘क्रेडिट’ सीमा प्रयोग गर्न दिन्छ ।

तर, तोकिएको समयमा सो रकम फिर्ता नहुने क्रम विगतको भन्दा बढ्दै गएको छ । यसले गर्दा बैंकहरुले कर्जा असुलीको लागि प्रकाशित गर्ने ३५ दिने सूचनामा क्रेडिट कार्डको केही हजार र एकाध लाख रुपैयाँ भुक्तानी नगर्नेहरु बाक्लो देखिन थालेका छन् ।

पछिल्लो केही महिना यता बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव हुँदा बैंकहरुले मागअनुसार कर्जा लगानी गर्न सकेका छैनन् । सहकारी संस्थामा लगानीयोग्य स्रोत मात्रै नभएर तरलता नै अभाव हुँदा बचतकर्तालाई रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको घटनाहरु आइरहेका छन् ।

कोभिड-१९ ले संकुचित अर्थतन्त्र पुनरुउत्थान हुँदै गर्दा बाह्य कारणले गर्दा बढेको महँगी साथै विदेशी मुद्रा सञ्चिति र शोधनान्तर अवस्थामा परेको दबावले गर्दा सरकारले नियन्त्रित नीति लिएको छ ।

शोधनान्तर घाटा बढ्दा बैंकिङ प्रणालीमा पनि लगानीयोग्य स्रोतको चरम अभाव हुँदा एकातिर ब्याजदर महँगिन पुग्यो भने बैंकहरुसँग स्रोतकै अभावको अवस्था छ ।

यसले समग्र अर्थतन्त्र नै प्रभावित हुँदा धेरैको रोजगारी प्रभावित भएको छ भने व्यापार व्यवसाय समेत प्रभावित भएको छ । कतिपयको रोजगारी समेत गुमेका कारण बैंकहरुमा कर्जा डिफल्ट हुने दर बढ्दै गएको बैंकर्सहरु बताउँछन् ।

कर्जा मात्रै होइन, केही लाखको सीमा दिएर जारी भएको क्रेडिट कार्डमै डिफल्ट रेट पनि सँगसँगै बढेको एक बैंकर्सले बताए ।

नेपालमा क्रेडिट कार्डको ‘ट्रेन्ड’ नयाँ हो । बैंकले आफ्ना ग्राहकको सहजताका लागि सुरुवात गरेको क्रेडिट कार्डको सुरुवात गरेको हो ।

यसलाई विश्वमा ‘क्यासलेस’ कारेबारको सुरुवातका रूपमा पनि हेरिएको छ । तर, खातामा पैसा नहुँदा पनि ग्राहकले वस्तुहरु खरिद गर्न सक्ने गरी बैंकहरुले दिएको सुविधा नै क्रेडिट कार्ड हो । तर, यसमा पनि डिफल्ट रेट बढ्दै गएको छ ।

पैसा बोकेर हिँड्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्त बनाउन बैंकले सुरु गरेको क्रेडिट कार्डले विश्व बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ । नेपालमा भने सफलता हासिल गर्नेभन्दा पनि बैंकिङ क्षेत्रका लागि चुनौती बन्ने अवस्था आएका बैंकरहरु बताउँछन् । सुरक्षाका हिसाबले पनि राम्रो हुँदाहुँदै पनि डिफल्ट दर उच्च हुँदा वित्तीय क्षेत्रका लागि चुनौती बन्दै गएको हो ।

कोभिडपछि बैंकिङ क्षेत्रमा कर्जाको डिफल्ट रेट बढ्नु स्वभाविक जस्तै रहेको बैंकर्सहरु नै बताउँछन् । कोभिड अगाडिसम्म क्रेडिट कार्डको औसत डिफल्ट रेट करिब १० प्रतिशत हुने गरेकोमा कोभिडपछि बढेर २० प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ ।

‘बैंकहरुमा क्रेडिट कार्डको डिफल्ट रेट २० प्रतिशतसम्म पुगेको छ, तर सबै डिफल्ट निष्कृय कर्जा भने हुँदैन, ’एक बैंकर्सले भने, ‘कोभिडपछि क्रेडिट कार्डमा निष्क्रिय कर्जाको अनुपात पनि १० प्रतिशतसम्म पुगेको देखिन्छ, कोभिड अगाडि करिब ५ प्रतिशत हाराहारी रहेको थियो ।’

नेपालमा क्यासलेस कारोबारको नयाँ औजारको रुपमा आएको क्यूआरमा आधारित भुक्तानी, कनेक्ट आईपीएस र मोबाइल बैंकिङले ठूलै फड्को मारिसकेका छन् ।

तर, क्रेडिट कार्डको प्रयोग भने अझै पनि बामे सर्दै गरेको अवस्थामा छ । यस्तोमा डिफल्ट रेट बढ्दै जाँदा यसको विस्तारमै चुनौती बढ्दै गएको छ । २०७९ असार मसान्तसम्म क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ३८ हजार ७९४ पुगेको छ ।

विनाधितो कर्जा सीमा हुने भएकोले क्रेडिट कार्डमा डिफल्ट रेट बढ्नु स्वभाविक भएको बैंकरहरुको तर्क छ । अन्य कर्जाको तुलनामा क्रेडिट कार्डको डिफल्ट रेट उच्च नै हुने माछापुच्छ्रे बैंक सूचना अधिकारी सुनिल खतिवडा बताउँछन् । तर, बैंकिङ क्षेत्रमा क्रेडिट कार्ड मात्रै नभएर समग्र कर्जाको डिफल्ट रेट बढ्दै गएको उनले बताए ।

‘कोभिडमा धेरैको व्यवसाय प्रभावित भयो भने कोभिडको बेला राष्ट्र बैंकले पनि छुट दिएको थियो । उक्त छुटहरु सकिंदै जाँदा सबै क्षेत्रमा नै डिफल्ट रेट बढेको छ,’ उनले भने, ‘कोभिडपछि कतिको रोजगारी गुम्यो भने, कतिपयको व्यवसायबाट हुने आम्दानी छैन होला, यस्तोमा क्रेडिट कार्डको सानो रकम तिरौं तर ठूलो रकम नतिरौं भन्ने हुँदैन ।’

यस्तोमा सबै क्षेत्रको कर्जासँगै क्रेडिट कार्डमा पनि डिफल्ट रेट बढेको उनको तर्क छ । क्रेडिट कार्ड त्यस्तै किसिमको वित्तीय उपकरण भएकाले पनि डिफल्ट रेट उच्च हुनु स्वभाविक रहेको उनले बताए ।

क्रेडिट कार्डमा ५/७ प्रतिशतको डिफल्ट रेट सामान्य हुने उनले बताए । अहिलेको अवस्थामा अल्पकालीन मात्रै भएको र अवस्था सुधार हुँदै जाँदा यसमा डिफल्ट रेट पनि घट्दै जाने उनले बताए ।

ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश ढकाल पनि क्रेडिट कार्डमा औसतमा १० प्रतिशतसम्म डिफल्ट रेट हुनेसक्ने बताउँछन् । तर, ग्लोबल आईएमई बैंकमा भने विगतको तुलनामा डिफल्टमा सुधार भएको बताउँछन् ।

‘अन्य कर्जाको तुलनामा क्रेडिट कार्डमा डिफल्ट रेट बढी नै हुन्छ, यसमा धितो हुँदैन, सहज भएपछि कार्ड प्रयोग भइहाल्छ,’ उनले भने, ‘कार्ड प्रयोग गर्नेबेला एक महिनापछि तिर्नुपर्छ भन्ने बिर्सन्छन् जस्तो देखिन्छ । कार्ड प्रयोग गर्ने र तिर्नेबेला सम्पर्कविहीन हुने ट्रेन्ड छ । यसले गर्दा तुलनात्मक रुपमा क्रेडिट कार्डको डिफल्ट रेट उच्च छ ।’

अन्य कर्जामा निष्कृय अनुपात औसतमा करिब १.३ प्रतिशत रहेकोमा यसमा बैंकहरुमा औसतमा करिब १० प्रतिशत निष्कृय रहेको उनले बताए । यस्तो कर्जा डिफल्ट भएको ९० दिन नाघेपछि शतप्रतिशत जोखिम व्यवस्था (प्रोभिजन) गर्नुपर्ने भएकोले बैंकहरु तत्कालन ‘रिकभरी एक्सन’मा जाँदा पनि क्रेडिट कार्डको ३५ दिने सूचना बढी भएको उनले बताए ।

बैंकहरुले कर्जा लगानी गर्न नसक्ने, कोभिड र महंगिको समस्याले नागरिकको कर्जा भुक्तानी क्षमता कमजोर हुँदा समग्र बैंकिङ क्षेत्रमा कर्जासँगै क्रेडिट कार्डको पनि डिफल्ट रेट बढेको हुनसक्ने उनले बताए ।

‘बैंकहरुमा लगानीयोग्य स्रोतको अभावसँगै अन्य विकल्पमा क्राइसिस हुँदा क्रेडिट कार्डको प्रयोग बढ्न जान्छ,’ उनले भने, ‘कर्जा सहज रुपमा उपलब्ध नहुँदा क्रेडिट कार्डकै प्रयोग तत्काल गरौं भन्ने हुन्छ, यसले प्रयोग बढ्ने र डिफल्ट पनि बढ्दै जाने हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?