+
+

प्रधानमन्त्री देउवाले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

एकहजार सहित २७ सयजना क्षमता

टोपराज शर्मा टोपराज शर्मा
२०७९ भदौ ११ गते १२:००

११ भदौ, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ ।

एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् ।

सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।

बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।

नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन् ।

संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् ।

आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ ।

२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो । कोरोना महामारी र रुख कटानमा ढिलाईका कारण प्रभावित आयोजनाको दोस्रो चरणका काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् । अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।

सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, ३ तले कर्मचारी आवास,वाटर फाउन्टेन,पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन् । जसमध्ये एउटा भीआईपी गेट छ । गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ ।

विद्युतका लागि ६ सय ३० केभिए क्षमताको ट्रान्सर्फमर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिन मुनिको पानी रिचार्ज गर्न ८ वटा रिचार्ज पीट पनि बनाइएको छ ।

सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ। औद्योगिक ब्यापार मेलाहरु सञ्चालन गर्न प्रदर्शनी केन्द्र बनाइएको हो । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुबैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र बनेसँगै सानादेखि ठूला सम्मेलन र सेमिनारहरु गर्न ठाउं अभावको समस्या हट्ने छ ।

नेकपा एमालेको बुटवलमा भएको आठौ. महाधिवेशनले बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आवश्यक रहेको एजेण्डा पारित गरे अनुरुप आफूले बुटवलको ‘ड्रिम पोजेक्ट’का रुपमा यो योजना अघि बढाएको र आफ्नै पहलमा वजेट विनियोजन गरेको पूर्वअर्थमन्त्री समेत रहेका रुपन्देही-२ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले बताए ।

सम्मेलन केन्द्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डीपीआर निर्माण, वजेट विनियोजन, बहुवषिर्य ठेक्काको लागि सहमति लगायतका काममा आफूले अगुवाई गरेको पौडेलले बताए ।

सम्मेलन केन्द्रसँगै बुटवल मण्डपभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल पनि सम्पन्न हुंदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, औद्योगिक ब्यापार मेला, प्रदर्शनी, बैठक र कार्यक्रमहरु आयोजना भई रुपन्देहीको आर्थिक विकासमा थप मद्दत पुग्ने पौडेलले विश्वास व्यक्त गरेका छन् । आयोजना छनौटदेखि निर्माण सम्पन्न हुने चरणसम्म ल्याउन योगदान गर्ने सबैप्रति पौडेलले धन्यवाद दिएका छन् ।

कार्यविधि नबन्दा सञ्चालनमा अन्योलता

निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको लागि कार्यविधि नबन्दा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अन्योलता छ ।

कार्यविधि नबन्दासम्म सम्मेलन केन्द्र हस्तान्तरण गर्न समेत नमिल्ने भएकाले सञ्चालन हुन समय लाग्ने देखिन्छ ।

सम्मेलन केन्द्र सञ्चालनमा वाषिर्क ३ करोड बढी खर्च आउने आयोजना प्रमुख पन्थीले बताए ।

निकै ठूलो खर्च रहेकाले दिगो सञ्चालन कसरी गर्न सकिन्छ भनेर उपयुक्त कार्यविधि बनाउने क्रममा रहेको उनले बताए ।

सकेसम्म निजी क्षेत्रलाई मात्रै नदिएर सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने गरी संघ, प्रदेश र स्थानीय तहका सरकारबीच सञ्चालन मोडालिटीबारे छलफल भइरहेको आयोजना प्रमुख पन्थीले बताए ।

बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ सम्मेलन केन्द्र बनाइए पनि स्थायी राजधानी दाङको भालुुवाङ तोकिएकाले सम्मेलन केन्द्र सञ्चालनमा चुनौती हुुनसक्ने देखिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?