
११ भदौ, पोखरा । काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाह पार्किङ अनुमति लिएर अन्य प्रयोजनमा लगाएको व्यापारिक कम्प्लेक्सका संरचनामा डोजर चलाउन थालेपछि चर्चामा छन् ।
यति नै बेला पोखरेलीले भने ४ वर्षअघि मेयरसँगै जोडिएको ‘डोजर काण्ड’ स्मरण गरिरहेका छन् । त्यतिबेला यो विषयले देशव्यापी नै चर्चा पाएको थियो ।
पोखरा महानगरपालिकाले ४ वर्षअघि फिर्केखोलामा बनेका अनधिकृत संरचना हटाएर पैदलमार्ग बनाउने योजना अघि सारेको थियो । सोही योजना बमोजिम ०७५ असार १ गते तत्कालीन मेयर मानबहादुर जिसी एकाबिहानै फिर्केखोला पुगेका थिए ।
पैदलमार्ग शिलान्यासका क्रममा तत्कालीन मेयर जिसी आफैं डोजर अपरेटर बस्ने ठाउँमा बसे । डोजर अपरेटरलाई निर्देशन दिनुको साटो उनले आफैं डोजरको लिभर चलाउन पुग्दा दुर्घटना हुन पुग्यो । अचानक डोजर चल्दा खोलाको वाल रेलिङमा बसेका पत्रकारसहित ५ जना घाइते भएका थिए । घाइतेहरुलाई अस्पतालमै राखेर उपचार गर्नु परेको थियो ।
तर, उक्त घटनालाई पोखरेलीले सकारात्मक भन्दा पनि ‘मेयरको डोजर काण्ड’ को रुपमा स्मरण गरिरहन्छन् । उक्त घटनापछि तत्कालीन मेयर जिसीको चौतर्फी आलोचना भएसँगै फिर्केखोला पैदलमार्ग योजना पनि अलपत्र पर्यो । ४ वर्षभन्दा बढी भइसक्दा पनि महानगरले न त्यहाँका माापदण्ड विपरीतका संरचना हटाउन सक्यो, न पैदलमार्ग बनाउन नै ।
तत्कालीन समयमा पोखरा महानगरपालिका–१८ को अँधेरी कुनादेखि, वडा नम्बर ४, ५ हुँदै ड्याम साइटसम्म पैदलमार्ग बनाउने योजना महानगरको थियो । फोहोर र अतिक्रमणको चपेटामा परेको फिर्के खोलाको संरक्षण गर्न र खोलाको तिरैतिर पैदलमार्ग बनाउन महानगरका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाको उपस्थितिमा भव्य रुपमा शिलान्यास गरिएको थियो ।
‘महानगरले भत्काउनमात्रै होइन, बनाउन पनि जान्दछ भन्ने सन्देश पनि फुटट्रयाक निर्माण हुन लागेको हो’, तत्कालीन समयमा मेयर जिसीले भनेका थिए, ‘महानगरपालिकाले भत्काउन मात्र हैन, बनाएर मात्र छाड्छ भन्ने प्रमाण फिर्के फुट ट्रयाक निर्माणले दिन्छ ।’
फिर्के खोला संरक्षणमा तत्कालीन आर्थिक वर्षमा १ करोड ६० लाख रुपैयाँ छुट्याएको महानगरले ३० लाख रुपैयाँमा फिर्केका दुवै किनारमा २÷२ मिटरको ट्रयाक बनाएर पैदलमार्ग बनाउने बताएको थियो ।
तर, डोजर चलाएको र शिलान्यास वापतको ५ लाख ४५ हजारबाहेक अन्य बजेट महानगरले गर्नै सकेन । डोजर काण्डसँगै उक्त योजना अघि बढ्न नसकेपछि अहिले पनि त्यही फिर्केबाट ढल र फोहोर फेवातालमा मिसिइरहेको छ ।
महानगरकै कर्मचारी मेयर आफ्नै ‘हर्कत’ले विवादित बनेपछि काममा चासो नदिएको आरोप लगाउँछन् । ‘बजेट पनि विनियोजन भइसकेको थियो । शिलान्यास पनि भइसकेको थियो । काम खुरुखुरु गरेको भए यतिबेला फिर्के सुन्दर भइसक्थ्यो’, महानगरका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘तर, मेयर आलोचित भए पछि योजना नै कहाँ पुग्यो, पुग्यो ।’

महानगरका इन्जिनियर महेन्द्र गोदार फिर्केका संरचना हटाउने क्रममा ‘मेयर काण्ड’ घटेसँगै योजना नै अघि नबढेको बताउँछन् । ‘काम गर्ने बेला काण्ड घटिहाल्यो ।
त्यसपछि त केही पनि काम अघि बढेन’, उनले भने, ‘उपभोक्ता समितिले केही गरिरहेको भन्ने सुनियो । तर, योजना अहिलेसम्म पूरा भएन ।’
तत्कालीन समयमा फिर्केखोला मापदण्ड मिचेर बनेका संरचनाबारे अध्ययन गर्न इन्जिनियर गोदारकै संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले १५ दिन लगाएर फिर्केको दायाँबायाँ ५ मिटर राइट अफ वे मानेर रेखांकन गर्दा १९२ भन्दा बढी संरचना मापदण्ड विपरीत बनेको प्रतिवेदन बुझाएको थियो । जबकी फिर्के खोलाको मापदण्ड १० मिटर छ ।
१० मिटर मापदण्डलाई आधार बनाएर रेखांकन गर्दा फिर्के मिच्ने संरचनाका संख्या अझै बढ्ने महानगर स्रोतको भनाइ छ । फिर्केखोला मिच्नेमा सरकारी कार्यालयदेखि, सामाजिक व्यक्ति, मठमन्दिर, सुकुम्बासीदेखि शैक्षिक संस्थासम्म छन् ।
पोखरा महानगरपालिका– ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल फिर्केखोलाको नयाँ डिपिआर बनिरहेको र उक्त डिपिआर नआउँदासम्म काम अघि नबढ्ने बताउँछन् । ‘अहिले खोलाको टोटल डीपीआर बनिरहेको छ । त्यो बनेपछि मात्रै कस्तो खालको योजना अघि बढाउने हो भन्ने खाका तयार हुन्छ’, उनले भने ।
प्रतिक्रिया 4