
१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताले प्रत्येक जिल्लाका कम्तीमा एउटा निर्वाचन क्षेत्र नछोड्न नेतृत्वलाई सुझाव दिएको छ ।
आइतबार वागमती प्रदेश समितिको बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले यस्तो सुझाव दिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
बैठकमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका जिल्ला इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए। ‘१३ वटै जिल्लाका इन्चार्जले चुनावी रिपोर्टिङ गर्नुभयो’, पौडेलले अनलाइनखबरसँग भने, ‘काठमाडौं उपत्यका बाहेकका सबै जिल्लाहरुले प्रतिनिधिसभामा कम्तीमा एउटा क्षेत्र माग्नुभएको छ। दुईवटा भएको ठाउँमा एउटा र एउटा मात्रै भएको ठाउँमा त्यो निर्वाचन क्षेत्र हामीलाई चाहिन्छ भन्ने दावी पेस गर्नुभएको छ।’
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट भने ठोस दाबी नआएको पौडेलले बताए । काठमाडौं उपत्यकाका यी तीन जिल्लामा गत स्थानीय तहको निर्वाचनमा माओवादीले एउटा पनि पालिकाको नेतृत्व जितेको छैन ।
बैठकले प्रदेश अन्तर्गतका केन्द्रीय सदस्यहरुको चुनावी कार्यविभाजन समेत गरेको छ । प्रदेश सचिव इन्द्रबहादुर थिङका अनुसार दुई महिना प्रतिनिधिसभा र प्रदेशसभामा खटिनका लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २० भित्र प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस गरिसक्न समेत निर्देशन दिएका थिए । पालिकाबाट जिल्ला र त्यहाँबाट प्रदेशमा तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ । यसबारे प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाउनेछ ।
प्रतिक्रिया 4