+
+

बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं : प्रचण्ड

उपत्यकामा नयाँ अनुहारलाई उम्मेदवार उठाउने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते २०:३०

१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा नयाँ नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका छन् ।

निर्वाचन सेन्टिमेन्ट पनि भएको भन्दै उनले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताए ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको बताए ।

उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा राखेर पदाधिकारीले कमाण्ड गर्ने संरचना बनाउनेबारे सोच्दछौं ।’

चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ नयाँ ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाए । ‘यही भएर चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन’, प्रचण्डले भने, ‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । बालेनले के जित्यो, सेन्टिमेन्टले जित्यो’, उनले अघि भने, ‘हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

पार्टीको गुटबन्दीमा पनि सहभागी नभएको र सबैले साथ दिनसक्ने उम्मेदवार ल्याउने उल्लेख गरे । उनले प्रतिनिधिसभामा २/३ सिट जित्न सके ठूलो सफलता हुने बताए ।

उपत्यकामा नयाँ संरचना बनाउने

प्रचण्डले उपत्यकामा आफ्नो पार्टीको संगठन कमजोर भएको भन्दै नीतिगत र संरचनागत रुपमा केही नयाँ व्यवस्था गर्ने बताए ।

‘हामी अहिले अलि चिन्तित भएको काठमाडौं उपत्यका हो,’ उनले भने, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति अलिकति नाजुक छ । काठमाडौं, ललितपुर, भक्तपुरका बारेमा नीतिगतरुपमा केही नसोची नहुने भएको छ । यहाँको सन्दर्भमा नीतिगतरुपले पनि, संरचनागतरुपले पनि नयाँ बनाउनुपर्छ ।’

आफूहरुको शक्ति कमजोर भएर नभई विकेन्द्रित भएर उपत्यकामा परिणाम नआएको भन्दै प्रचण्डले उपत्यकाका कमिटी, उपत्यका विशेष प्रदे्श समिति र सम्पर्क समन्वय समितिलाई मिलाएर एउटै संरचना बनाउने समेत बताए।

‘तपाईंहरु विशेष प्रदेशवाला या सम्पर्क समन्वय प्रदेशवाला र उपत्यकालाई युनिफाइड गर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘सोचिराख्नुहोला । सबै एकै ठाउँमा ल्याएर, भिडन्त गरेर हामी ठूलो पार्टी बन्ने सम्भावना त्यहाँ देखेको छु ।’

पदाधिकारीले नै ह्यान्डिल गर्ने गरि संरचना बनाउने समेत बताए। ‘संसारमै राजधानीको संगठन संरचना सिधै केन्द्रले ह्यान्डिल गर्ने र भएभरको शक्ति केन्द्रित गर्ने गरेको हुन्छ । हामीले विकेन्द्रित गर्‍यौं, त्यसैले रिजल्ट दिएन । राजधानीका बारेमा हामी नयाँ विकल्प सोच्दै छौं। सिधै पदाधिकारीले कमाण्ड गर्ने गरि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?