
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै दायर रिटमाथिको अर्को सुनुवाइ भदौ २७ गते हुने भएको छ ।
सोमबार पेशी तोकिए पनि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ तोकिएको थियो ।
निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति भदौ २७ गतेलाई तय गरिएको जानकारी दिए । गत साता पनि अदालतले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको थियो ।
नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका अन्य दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका छन् ।
अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएपछि त्यसयता यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
प्रतिक्रिया 4