
१४ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज -सेजन) ले आयोजना गरेको ‘पूँजी बजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने बताए ।
त्यसको लागि अर्थ मन्त्रालयसँग पहल भइरहेको बताए । ‘पूँजी बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिंदैन, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन् हामी स्वायत्त छैनौं,’ उनले भने, ‘हामी अर्थ मन्त्रालयको विभाग जस्ता रहेका छौं ।’
नियामक बोर्ड र बजार सञ्चालक नेप्से दुवै निकाय विभाग जस्तो भएर बस्नुपर्दा बजारको विकास सम्भव नभएको हमालको तर्क छ । अहिलेको अवस्थामा सेयर बजारमा कायालपट गर्छु भनेर सोच्न नसकिने उनले बताए ।
‘हामीले स्वायत्तताका लागि सरकारसँग कुरा गरिरहेका छौं । हामीले सबैले चाहेको जस्तो सुधारका लागि काम गरिरहेका छौं,’ उनले भने ।
अध्यक्ष हमालले स्वायत्त भएनौं भनेर चुप लागेर पनि नबसेको धारणा राखे । उनले अहिलेको बाध्यात्मक अवस्थाका बाबजुत पनि गर्नुपर्ने काम नियमित रुपमा तिब्र गतिमा गर्ने प्रयास भइरहेको तर्क गरे ।
सेयर बजारको विकास र विस्तारका लागि प्रतिस्पर्धा आवश्यक रहेको बताए । बजारमा एकाधिकार कायम हुन नहुने भन्दै स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको उनले बताए । बजारमा प्रतिस्पर्धा भएमात्रै बजारले गति लिने र लगानीकर्ताको लागत घटने उनको भनाई छ ।
पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको भन्दै बुझाइमा पनि कमी भएको अध्यक्ष हमालले बताए । ‘बजारमा मोनोपोली हुनु हुँदैन, प्रतिस्पर्धा हुनुपर्छ, हामीले सी-आस्वा शुल्क घटाएका छौं,’ उनले भने ‘नेप्से र सेबोनले लिने शुल्कमा पनि घटाउन अध्ययन गरिरहेका छौं ।’
कार्यक्रममा उनले ब्रोकरको शाखा खोल्नका लागि बोर्डले अनुमति दिनुपर्ने र योग्य ब्रोकर छन् भने उसले आफ्नो क्षमता अनुसारको शाखा खोल्न पाउनुपर्ने बताए ।
हमालले भेन्चर क्यापिटलका लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको र यो साताभित्रमा थप ७ वटा कम्पनीलाई पनि अनुमति दिने उनले बताए । सेयर बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै अब पूर्ण डिजिटल कारोबार आवश्यक रहेको हमालको तर्क छ । मार्जिन ट्रेडिङ गर्नका लागि पनि प्रविधिको विकास प्रभावकारी रुपमा हुनुपर्ने धारणा हमालले राखे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौऽकि नीतिमा ४/१२ करोडको नीति लिएको र अहिले ४ हटाएर १२ कायम राखेको भन्दै ब्रोकर मार्फत मार्जिन ट्रेडिङ सुरु भएपनि उक्त कर्जाको व्यवस्था हट्ने बताए । उनले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूँजी बजार विज्ञ डा. गोपाल भट्टले ‘मार्जिन लेन्डिङ कन्सेप्ट, प्राक्टिस र मोडल’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टले सेयर बजारमा लगानी गर्नु चूनौती पूर्ण रहेको र चूनौतीको समना गरेर लगानी गरे प्रतिफल पनि राम्रो पाउन सकिने बताए ।
बजारलाई स्थिर बनाउन, बजारमा लगानीयोग्य रकम (तरलता) प्रवाह गर्न मार्जिन कारोबार सुरु गर्न आवश्यक रहेको सुझाव उनले दिए । नेपालमा सेयर धितो राखेर ऋण लिएपनि त्यो ऋण कहाँ लगानी गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नरहेको गुनासो गरे ।
डा. भट्टले नेपालमा सेयर धितो राखेर लिएको ऋण सेयर बजारमा नै लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था नरहेको उल्लेख गरे । ‘सेयर धितो राखेर लिएको ऋणले सेयर किन्नुपर्छ भन्ने छैन’ उनले भने,’त्यो पैसा जहाँ लगानी गरेपनि कानूनले केही भन्दैन । यसमा कानून नै स्पष्ट छैन ।’
धितोपत्र बोर्डको निर्देशनको आधारमा नेप्सेले कार्यविधि जारी गरेको र त्यसको आधारमा मात्रै मार्जिन कारोबार सुरु गर्दा ब्रोकरले गर्ने कर्जा लगानीमा पनि पनि कानूनी जटिलता आउने तर्फ डा. भट्टले सचेत गराए ।
उनले धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्से, ब्रोकर, बैंकर्स बसेर मार्जिन कारोबार छिटो सुरु गर्न सुझाव दिए । मार्जिन कारोबार सुरु गर्दा राष्ट्र बैंकले इमान्दार भएर हेर्नुपर्ने, ब्रोकर कम्पनी नैतिक हुनुपर्ने, धितोपत्र बोर्डले कानुनी अड्चन फुकाउनु पर्ने उनको सुझाव रहको छ ।
प्रतिक्रिया 4