
काठमाडौं । भदौ २४ गते प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’को गीत ‘मेरो गाउँ ज्यामिरे’ सार्वजनिक भएको छ ।
यो बालगीतमा प्रमुख चरित्रको आँखाबाट परिवार र साथीहरुको सम्बन्ध तथा उसको मनोविज्ञानलाई चित्रण गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज दिएका छन् ।
सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेशले संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बालगीतलाई निर्माण टिमले फिल्मको ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी)को रुपमा सार्वजनिक गरेको हो ।
रचनाकार सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।
‘मैले फिल्म पनि हेरें । गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो राम्रो फिल्म बनेको रहेछ । मैले त ज्यादा भन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो । अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ,’ उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि । हाम्रो उद्देश्य पनि मिल्यो ।’
लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए ।
‘यो गीत मैले सानोमा सुनेको पनि थिएँ होला तर कलेज पढ्दा ख्याल गरेको थिएँ । यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ । अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने होस् । किनकि यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो,’ सुजितले भने ।
बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेश गर्छ, जुन परिवार आर्थिक अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ ।
फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु बिष्टबाहेक पहिलोपल्ट अभिनय गर्ने कलाकारको बाहुल्य छ । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4