
१४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिंदै गए पछि तिब्बत प्रशासनले लकडाउन थप गरेको छ । १८ भदौ (३ सेप्टेम्बर)सम्मका लागि लकडाउन थपिएको स्थानीय प्रशासनको सूचना उदृत गर्दै नेपाली व्यापारीहरुले बताएका छन् ।
कोरोना संक्रमण बढेपछि लकडाउन थपिएको जानकारी आएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए । यससँगै नेपालतर्फ हिंडेका माल वस्तु बोकेको कन्टेनरहरुको सामान सुरक्षित भण्डारण गरिएको पनि उनले बताए ।
‘लकडाउन ३ तारिखसम्मका लागि थप भएको सूचना आएको छ,’ शेर्पाले भने, ‘नेपाल हिंडेका सामान तत्काल नेपाल आउन नसक्ने भएपछि व्यवस्थित गोदाममा भण्डारणका लागि पठाइएको छ ।’
शेर्पाकाअनुसार नेपालका लागि हिंडेका एक सय हाराहारी माल वस्तु बोकेका कन्टेनरका समान सुरक्षित भण्डारण गरिएको छ । तिब्बत प्रशासनले ल्हासास्थित वातानुकूलित कोल्ड स्टोरमा नेपाली माल वस्तु सुरक्षित भण्डारण गरेको शेर्पाले जानकारी दिए ।
‘बाटोमा रहेका माल वस्तु सुरक्षित चहिं भए, तर नेपाल आउने अझै ठेगान छैन्,’ शेर्पाले भने, ‘सामान रिरुट गर्न पनि तत्काल सम्भव देखिएन ।’
तिब्बत प्रशासनले उच्च निगरानीसहित कोरोना परीक्षण र उपचारमा काम गरिरहेका कारण अन्य सम्पूर्ण सेवा ठप्प रहेको भोटेकोशी चेम्बर अफ कमर्शले जनाएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले कोरोना महामारी बढेको भन्दै २१ साउन (६ अगष्ट) देखि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिरहेको छ ।
कोरोनाकै कारण चीनले नेपालतर्फका दुई प्रमुख व्यापारिक स्थलमार्ग २१ साउनदेखि रसुवागढी र २५ साउनदेखि तातोपानी नाका सिल गरेको थियो ।
नेपाली व्यापारिले दशैं लक्षित मालवस्तु तिब्बतको ल्हासा तथा विभिन्न सहरबाट ल्याउँदै गरेको माल वस्तु एक्कासी नाका बन्द भएपछि सिगात्सेतर्फको बाटोमै रोकिएका थिए । अहिले भण्डारण गरिएका माल वस्तुमा लत्ता कपडा र स्याउ छन् । ती वस्तुको खरिद लागत एक अर्ब भन्दा बढी भएको दाबी व्यापारीहरुको छ ।
प्रतिक्रिया 4