
१४ भदौ, काठमाडौं । इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले आफ्ना समर्थकहरूलाई बगदादको ग्रीन जोन पूर्णरूपमा छोड्न आग्रह गरेका छन् ।
शिया धर्मगुरु मुक्तादा अल–सद्रले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा ३० जना प्रदर्शनकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
दोहोरो झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । सदरका समर्थकहरूले ग्रिन जोनमा रकेटबाट चल्ने ग्रिनेड र मेसिनगनबाट जवाफी फायरिङ गरिरहेको सरकारी सुरक्षा बलको प्रतिकार गरिरहेका छन् ।
हिंसा अत्यधिक बढेर ७०० भन्दा बढी मानिस घाइते भएका छन् । यसैबीच अल–सद्रले आफ्ना अनुयायीहरूलाई राष्ट्रपति भवन परिसर छाड्न आग्रह गरेका हुन् ।
हिंसात्मक प्रदर्शन रोक्न इराकी सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरे पनि हिंसात्मक गतिविधि रोकिएका छैनन् ।
यसैबीच, युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ । सङ्घले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग अपनाउन आग्रह गरेको छ । उसले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचा भित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि गरेको छ ।
कुर्दिश राजनीतिज्ञ मसुद बरजानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन् । उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिश क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन् ।
छिमेकी देश टर्कीले आफ्ना नागरिकलाई बगदादको भ्रमण नगर्न आग्रह गरेको छ । अङ्काराले इराकमा जारी सङ्कट समाधान गर्न समावेशी वार्ताका लागि आह्वान गरेको छ । इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै टर्कीको विदेश मन्त्रालयले वर्तमान राजनीतिक द्वन्द्व शान्तिपूर्ण र समावेशी वार्ताका माध्यमबाटै समाधान हुने तथा इराकी जनताको शान्ति एवम् भलाई सुनिश्चित हुने बताएको छ ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गरेका छन् ।
इराकमा अल-सद्रका समर्थकहरू र उनीहरूको राजनीतिक प्रतिद्वन्द्वी इरान समर्थित शिया समूहबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ।
अक्टोबरको संसदीय चुनावमा धर्मगुरु मुक्तदा अल-सद्रको पार्टीले सबैभन्दा बढी सिट हासिल गरे पनि बहुमत जुटाउन सकेन । न उनले एक्लै सरकार बनाउन सके, न इरान समर्थित शिया प्रतिद्वन्द्वीहरूसँग सहमतिको सरकार गठन गर्न वार्ता गर्न स्वीकार गरे ।
गत जुलाईमा पनि सद्रका समर्थकहरूले इराकमा प्रदर्शन गरे र संसद कब्जा गरेका थिए । हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर संसदमा र्याली गरेका थिए । उनीहरू यहाँको पर्खाल चढेर संसदमा पनि प्रवेश गरे पनि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् ।
उनीहरूले प्रधानमन्त्री पदका लागि मोहम्मद शिया अल-सुडानीको उम्मेदवारीको विरोध गरेका थिए । उनी इरानको नजिक रहेको आन्दोलनकारीको बुझाइ छ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4