
१५ भदौ, चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने धेरैले चर्चा गरेका थिए । श्रेष्ठ स्वयम् पनि क्षेत्र नं. २ बाट उम्मेदवार हुने भन्दै पछिल्लो दिनमा क्षेत्र नं. २ लक्षित कार्यक्रममा आउन थालेका थिए ।
शक्तिखोर औद्योगिक क्षेत्रदेखि भरतपुर आँखा अस्पतालसम्मका कार्यक्रममा पुग्न भ्याएका श्रेष्ठको चितवन आउने क्रम पनि बाक्लो बन्दै गएको थियो ।
सत्ता गठबन्धनकातर्फबाट चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदबार बन्ने भएपछि श्रेष्ठले क्षेत्र नं. २ ताकेका थिए । तर, श्रेष्ठले मंगलबार अचानक आफ्नो घर भएको क्षेत्र नम्बर २ छाडेर क्षेत्र नं. १ मा प्रत्यक्षबाट उम्मेदवार बन्ने आकांक्षीको सूचीमा नाम दर्ता गराए ।
उनले क्षेत्र नं. २ बाट टिकट पाए भने पनि पार्टी भित्रकै एक समूहले असहयोग गर्यो भने जित्न मुस्किल हुनसक्ने ठानेर क्षेत्र नं. १ रोजेको चितवन कांग्रेसका नेताहरु बताउँछन् ।
क्षेत्र नम्बर २ मा पनि नाम दर्ता गराउँछु : श्रेष्ठ
तर श्रेष्ठले भने आफूले जहाँबाट लडे पनि चुनाव जित्ने दाबी गरे । त्यसैले आज क्षेत्र नम्बर २ मा पनि नाम दर्ता गराउने उनले बताए । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मैले १ नम्बरमा दर्ता गराएँ, मेरो घर भएको क्षेत्र नम्बर २ मा पनि आज नाम दर्ता गराउँछु, पार्टीले जहाँबाट टिकट दिन्छ, त्यहीँबाट चुनाव लडेर जित्छु ।’
उनले अगाडि भने, ‘यदि पार्टीले मलाई टिकट दिएन भने पनि जसलाई दिन्छ, उसैलाई जिताउँछु।’
क्षेत्र नं. २ ले संघीय चुनावका लागि आकांक्षीहरुलाई नाम टिपाउन बुधबार बिहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकेको क्षेत्रीय सभापति भरत अधिकारीले जानकारी दिए ।
चितवन क्षेत्र नं. २ बाट जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ र प्रकाश अधिकारीको नाम चर्चामा छ ।
यसअघि कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको गत भदौ ११ गते जिल्ला पार्टी कार्यालय नारायणगढमा बसेको अनौपचारिक बैठकले ‘बाहिरका मान्छेलाई उम्मेदवार स्वीकार नगर्ने’ बरु क्षेत्र नं. २ बाट अरु जो आए पनि स्वीकार्ने भन्ने निर्णय गरेको थियो ।
कांग्रेस जिल्ला समितिले एक निर्देशन जारी गर्दै एक ठाउँबाट उम्मेदवारमा आकांक्षा व्यक्त गरेर नाम दर्ता गराएको व्यक्तिले अर्को ठाउँमा पुगेर नाम दर्ता नगराउन भनेको छ । यसले क्षेत्र नम्बर १ मा नाम दर्ता गराइसकेका श्रेष्ठलाई अफ्ठ्यारोमा पार्ने कतिपय जिल्ला नेताहरु बताउँछन् ।
तर, राज्यमन्त्री श्रेष्ठ भने एउटा क्षेत्रमा नाम दर्ता गराएको व्यक्तिले अर्को क्षेत्रमा दर्ता गर्न पाइँदैन भनेर पार्टीको विधानमा नलेखेको बताउँछन् । ‘हामीले पार्टीको विधान मान्ने हो, कानुन मान्ने हो,’ उनले भने, ‘एक ठाउँमा नाम दर्ता गराएकोले अर्को ठाउँमा दर्ता गराउन पाइँदैन भनेर कहिंकतै लेखेको छैन ।’
प्रतिक्रिया 4