१५ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ । आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो ।
ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् ।
यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दास पनि टुरमा सहभागी छन् । ट्रफी हेर्न स्कुलका विद्यार्थीहरु समेत उपस्थित भएका थिए । यस्तै धिमे बाजा, बाँजुरी र लाखे समेत देखाइएको थियो ।
ट्रफीलाई दरबार स्क्वायरबाट पाँचतेल मन्दिर पुर्याएर फेरि दरबार स्क्वावरमै ल्याइएको थियो । सोमबार नेपाल ल्याइएको ट्रफी हिजो (मंगलबार) काठमाडौंको चन्द्रागिरिमा प्रदर्शनी गरिएको थियो भने मंगलबारै बेलुका होटल हायतमा गाला डनर कार्यक्रम आयोजना गरिएको थियो ।
ट्रफीलाई गोक्यो ताल र कालापत्थर लैजाने भनिए पनि मंगलबार मौसमको खराबीले हेलिकप्टर जान नसक्ने भएपछि ट्रफीलाई चन्द्रगिरिमा लगिएको हो ।
ट्रफीसँग नेपाल आएका आईसीसी मार्केटिङ एण्ड कम्युनिकेसन प्रतिनिधि शोमेरेस सेट्टीले धेरै समर्थकको माझ पुर्याउने उद्देश्यका साथ यो ट्रफी टुर गरिएको बताएका थिए ।
ट्रफी टुरमा सेट्टी र कलाकार सरोज खनाल पनि सहभागी छन् ।
यसअघि सन् २०१८ मा एकदिवशीय विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4