
काठमाडौं । काठमाडौंमा ‘भनेजस्तो’ कोठा, फ्ल्याट वा घर भाडामा पाउन कति कठिन छ ? आम डेराबासी यसका भुक्तभोगी हुन् ।
आफूलाई पायक पर्ने, राम्रो वातावरण भएको, व्यवस्थित, पर्याप्त पानी, पार्किङको सुविधा भएको र सहनशील घरबेटी पाउनु ‘बम्पर उपहार’ पाउनु बराबर हो । खोजेजस्तो वा रोजेजस्तो कोठा-फ्ल्याट पाउँदै नपाउने होइन, तर चर्को भाडाले डेरावाललाई तर्साउने गर्छ ।
एकातिर डेरावालको आवश्यकता अर्कोतिर डेरा खोज्नुको सास्ती । यस्तै परिबन्धलाई बुझेर सहरमा ‘डेरा-फ्ल्याट खोजिदिनेहरु’ छ्यापछ्याप्ती भेटिन्छन् । डेरा-फ्ल्याट खोजिदिने कम्पनीदेखि अनलाइन प्लेटफर्मसम्म यसमा सक्रिय छन् । तर यी प्लेटफर्ममार्फत कोठा खोज्नु कति भरपर्दो, विश्वसनीय र प्रभावकारी हुन्छ ?
डेरा खोज्ने अनलाइन प्लेटफर्म
‘हाम्रो बजार डटकम’, ‘फेसबुक मार्केटप्लेस’ ‘कोठा डटकम’, ‘घरबेटी डटकम’ जस्ता अनलाइन प्लेटफर्मसहित ‘रुम फाइन्डर इन काठमाडौं’, ‘रुम फाइन्डर इन काठमाडौं भ्याली’, ‘सस्तो रुम फाइन्डर’ जस्ता फेसबुक पेजले पनि सहरमा कोठा-फ्ल्याट खोज्न सघाएका छन् ।
अनामनगरमा कार्यालय रहेको ‘रुम फाइन्डर इन काठमाडौं’ले केही वर्षयता कोठा तथा फ्ल्याट खोजिदिने काम गरिरहेको छ । यसवापत उसले सेवाग्राहीबाट दुई हजार रुपैयाँ शुल्क असुल्छ ।
कोठा-फ्ल्याट खोज्नका लागि यहाँ फारम भर्नुपर्छ, एक हजार रुपैयाँ तिरेर । त्यसपछि उनीहरुले घरधनीको सम्पर्क नम्बर र ठाउँ बताइदिन्छन् । कोठा-फ्ल्याट चित्त बुझ्यो र बसोबासको टुंगो लाग्यो भने उक्त कम्पनीलाई थप एक हजार रुपैयाँ दिनुपर्छ । आफूलाई कस्तो कोठा चाहिएको हो ? त्यसको मापदण्ड दिएर कोठा खोज्ने काम पनि गरिदिन्छन् । यसका लागि उनीहरुले एक महिनाको भाका राख्ने गरेका छन् ।
ठमेलमा कार्यालय रहेको ‘रुम फाइन्डर काठमाडौं भ्याली’ले पनि कोठा तथा फ्ल्याट खोज्ने काम गर्छ । कोठा तथा फ्ल्याटका लागि सर्वसाधारणले सुरुमै २ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । कोठा तथा फ्ल्याट नपाएसम्म उनीहरुले खोजिरहन्छन् ।
यस्ता थुप्रै फेसबुक पेज छन्, जसले काठमाडौंमा ‘डेरा खोजिदिने’ गरेका छन् ।
विचौलियाको बिगबिगी
तपाईंले सामाजिक सञ्जाल वा अनलाइन प्लेटफर्मबाट खोज्नुभयो भने भाडामा उपलब्ध हुने अनागिन्ती कोठा फेला पर्नुहुनेछ । तर तपाईं सोझै उक्त घर-कोठासम्म पुग्न सक्नुहुन्न । किनभने यस्ता विज्ञापन घरबेटीले भन्दा पनि ती व्यक्तिहरुले राखेका हुन्छन्, जसको पूर्णकालीन काम नै काठमाडौंमा डेरा खोजिदिने हो ।
उनीहरुले डेरा खोजिदिएवापत पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म असुल्छन् । ‘तर यिनीहरु भरपर्दो हुँदैनन्,’ एक भुक्तभोगी भन्छन्, ‘फोटोमा राम्रो कोठा-फ्ल्याट देखाएर अर्कै घरमा पुर्याउँछन् ।’
उनीहरुले कतिपय कोठा, फ्ल्याटका लागि डेरावाल खोजिदिने जिम्मा पनि लिने गर्छन् । यसवापत उनीहरुले डेरावाल र घरबेटी दुवैवाट ‘सेवा शुल्क’ लिने गरेका छन् । डेरावालबाट शुल्क असुल्नका लागि घरबेटीले पनि यस्तै विचौलियालाई कामको जिम्मा दिने गरेको बताइन्छ ।
के हो भरपर्दो उपाय ?
काठमाडौंमा भनेजस्तै डेरा सहजै पाइँदैन । डेराको खोजीमा निस्कने हो भने अर्कै घनचक्करमा फस्ने भय छ । कसरी खोज्ने त डेरा ?
यसका लागि सबैभन्दा भरपर्दो विकल्प हो, आफन्त वा चिनेजानेका साथीभाइ । उनीहरुलाई आफूलाई चाहिएको मापदण्ड अनुरुपको डेरा खोज्न सहयोग लिन सकिन्छ । यसका लागि समय भने लाग्न सक्छ । उनीहरु बसोबास गर्ने आसपासमा कुन कोठा-फ्ल्याट खाली हुँदैछ भनेर चासो राख्न सकिन्छ । त्यस्ता कोठा-फ्ल्याट कस्तो छ, सेवा सुविधा के छन्, घरबेटीको व्यवहार कस्तो छ इत्यादि जानकारी लिन सकिन्छ ।
साथै, घरबेटीले पनि सहजै विश्वास गर्न सक्छन् । कुनै अपरिचित व्यक्ति भन्दा चिनेजानेकै मान्छेमार्फत आएका डेरावाल उनीहरुलाई भरपर्दो लाग्छन् । डेरावाल कस्ता हुन्, के गर्छन्, व्यवहार कस्तो छ, कति जना बस्छन् इत्यादि कुरा डेरावालले भरपर्दो व्यक्तिबाटै जानकारी लिन सक्छन् ।
यसका लागि आफ्ना सहकर्मी, साथीभाइ, छिमेकी, आफन्त वा काठमाडौंमा घर भएकाहरुलाई सहयोग लिन सकिन्छ ।
प्रतिक्रिया 4