
९० को दशकतिर विश्वमा ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनर्गठन) शब्दहरू यति चर्चित र आकर्षक थिए कि राजनीतिमा रुचि राख्नेहरूका लागि यो मन्त्र नै बनेको थियो । यसका प्रवर्तक सोभियत संघका अन्तिम साम्यवादी शासक नेतृत्वकर्ता मिखाइल गोर्बाचोभको यही ३० अगस्तका दिन मृत्यु भएको छ । यससँगै तिनकाबारे थरीथरीका टीकाटिप्पणी भइरहेका छन् ।
धेरैजसो पश्चिमाको नजरमा उनी मसिहा बनेका छन् । जर्मनीहरूले उनलाई विशेष सम्झिने छन् किनकि उनी नभएको भए बर्लिनको पर्खाल त्यति चाँडै ढल्ने थिएन र दुई जर्मनको एकता सम्भव थिएन होला । तर रसियनहरूले तिनलाई कसरी सम्झिने छन् भन्ने कुराको सर्भे हुन बाँकी नै छ । यद्यपि सन् १९९६ मा उनी रूसमा राष्ट्रपतिको प्रत्यासी बन्दा १ प्रतिशत पनि मत ल्याउन नसकेको तीतो सन्दर्भ नभएको होइन ।
उनकै कार्यकालमा विशाल सोभियत साम्राज्य र विश्वबाट साम्यवादी व्यवस्था ढल्न सुरु भएको होे । प्रसिद्ध राजनीतिज्ञ वैज्ञानिक फ्रान्सिस फुकुयामाले सोभियत र पूर्वी यूरोपमा साम्यवादको पतनसँगै शान्ति, भ्रातृत्व तथा समृद्धिका लागि पश्चिमा प्रजातान्त्रिक उदारवादी व्यवस्थाको युगको निर्विकल्पताको दाबी गरेका थिए । कसैले गोर्बाचोभलाई उदारवादी त कसैले गद्दार त कसैले सोझा नेता भन्ने गर्दछन् ।
उनीसँग जोडिएको समय तथा विषयको सन्दर्भहरूमा उठ्ने गरेका प्रश्न नभएका होइनन्– के गोर्बाचोभका कारण आएको उथलपुथल पछि विश्वमा शान्ति छायो त ? गोर्बाचोभका कारण निर्विकल्प जस्तै बन्न पुगेको पश्चिमा प्रजातान्त्रिक व्यवस्थाले शान्ति र समृद्धि ल्यायो ? गोर्बाचोभपछि के विचारको युगको औचित्य समाप्त भएको हो ? के पुनः सोभियत संघको उदय हुन सक्छ ? आदि ।

गोर्बाचोभकोे भनाइमा त्यसताका सोभियत संघको सामाजिक–आर्थिक अवस्था खराब रहेको र यसबाट पार लगाउन सुधार तथा राज्यका निकाय तथा संरचनाहरूको पुनर्गठन आवश्यक थियो । यसका लागि विश्वसँग काँधमा काँध मिलाएर नयाँ प्रविधि तथा लगानी भित्र्याउनुपर्ने थियो जसलाई खुलापनको रूपमा अथ्र्याइएको थियो ।
तथ्याङ्कले सन् ८० को दशकको आरम्भबाट नै सोभियत संघमा आर्थिक मन्दी देखा पर्न थालिसकेको थियो भने यससँगै ‘आईएमएफ’ तथा ‘विश्व बैंक’ प्रभावी बनिरहेको थियो जहाँ सोभियतको भूमिका खस्कँदै गइरहेको थियो । भन्ने गरिन्छ– सोभियत मोडेलको साम्यवादीहरूले आर्थिक पक्षमा पटक्कै ध्यान दिएनन् । विश्वव्यापी आफ्नो प्रभाव देखाउन अन्धाधुन्द ठूलो लगानी गरिएको थियो, जहाँ प्रतिफल तथा नाफा नोक्सानमाथि खासै ध्यान दिइन्नथ्यो ।
त्यसैगरी सांस्कृतिक रूपमा सोभियत प्रभाव विश्वव्यापी बन्न असफल रह्यो भन्ने पनि छ । त्यहींनेर पश्चिमाहरू आर्थिक र सांस्कृतिक रूपमा विश्वमा छाइरहेका थिए । अझ सूचनाप्रविधि तथा इन्टरनेटमा पश्चिमाहरू निकै अगाडि बढिसकेका थिए ।
सोभियत तथा साम्यवादीहरू तल–तल खस्किंदै थिए । तर गोर्बाचोभको सामाजिक–आर्थिक सुधार संस्थागत रूपमा राम्रोसँग अघि बढिरहेको थिएन जसरी चीनमा देङ सियाओ फेङले सन् १९७६ बाट सामाजिक–आर्थिक सुधारलाई सफलतापूर्वक अगाडि बढाएका थिए । गोर्बाचोभको राज्य निकायहरूमा प्रभाव तथा नियन्त्रण कमजोर बन्दै गएको कुरा बढी सुनिने गरिन्छ जुन प्रभावशाली नेतृत्वको सिद्धान्तसँग मेल खाँदैन ।
विश्वव्यापी रूपमा आणविक खतरालाई टार्ने तथा बर्लिन पर्खाल भत्काएर जर्मनको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्दै यूरोपेली संघको अवधारणालाई फल्ने फुल्ने अवसर गोर्बाचोभकै कारण सम्भव भएकोमा खासै दुईमत छैन ।
त्यसैले युरोपका नेताहरूले तिनको गुणगान गाउने नै भए । तर विपरित आफ्नो देशलाई एकढिक्का राख्न सकेनन् भन्ने प्रश्नले उनलाई सम्भवतः असाध्यै खाएको हुनुपर्छ । पुटिनले गोर्बाचोभको सुधारका प्रयासलाई तत्कालीन आवश्यकताको रूपमा स्वीकारेको देखिन्छ तर गोर्बाचोभपछिको छिन्नभिन्न सोभियत संघलाई उनले यस शताब्दीकै भयंकर भूराजनीतिक दुर्घटना भनेका छन् ।
हो, उनको कारण शीतयुद्धको समाप्ति सम्भव सहज भयो तर नयाँ शीतयुद्धको सम्भावना पनि बढेर गएको छ । नयाँ विश्व ध्रुवीकरणको सुरुवातका संकेतहरू रूस–युक्रेन युद्ध र रूस–चीनको सामीप्यता तथा एशियाको आर्थिक रूपमा उदयले केही हदसम्म यसको संकेत गर्दछ ।
शीतयुद्धपछि विश्वमा हिंसा तथा युद्धले बढी मानिस मारिएको तथा मानवीय सम्पत्ति ध्वंस भएको कुराहरूले शान्ति तथा समृद्धिका लागि पश्चिमा प्रजातन्त्रको निर्विकल्पता थेसिसमाथि प्रशस्त प्रश्नहरू उठ्दै आएका छन् । फुकुयामाको उक्त थेसिस विशुद्ध अर्थ–राजनीति पाटोसँग जोडिएको थियो जहाँ सांस्कृतिक तथा डिग्निटीलाई जोडेर हेर्ने काम नभएको स्वीकारोक्ति उनको सन् २०१८ मा प्रकाशित पुस्तक ‘आइडेन्टिटी’ बाट बुझिन्छ ।
यस पुस्तकमा उनले सोभियत तथा युरोपमा साम्यवादी व्यवस्थाको अन्त्यसँगै लेखिएको ‘द इन्ड अफ द हिस्ट्री एण्ड द लास्ट मेन’ अर्थात् इतिहासको अन्त्य र अन्तिम मानव पुस्तकका मुख्य तर्क पश्चिमा प्रजातन्त्रको निर्विकल्पता सिद्धान्तलाई थप प्रष्ट्याउने तथा सच्याउने काम गरेका छन् ।
गोर्बाचोभको नेतृत्वको सन्दर्भमा एउटा उठ्ने पाटो भनेको उनमा स्पष्ट वैचारिक मान्यताहरूको सम्बन्धसँग रहेको भन्नेहरू पनि नभएका होइनन् । सुरुमा सामान्य सामाजिक–आर्थिक सुधारबाट ठिकठाक भइहाल्छ कि भन्ने थियो तर पछि राजनीतिक सुधारका प्रयासहरू अगाडि बढाउँदा त्यसलाई थेग्न नसकेको आरोप उनीमाथि लाग्ने गर्दछ ।
एकथरी उनको सुधारको असफलतालाई लिएर उनीमाथि नेतृत्वमा हुुनुपर्ने भिजन, प्रभाव तथा पकडका बारे प्रश्न तेस्र्याउने गर्दछन् । पछिल्लो समयमा उनी नितान्त एक्लो जीवन जिउन बाध्य भए । उनको अगाडि–पछाडि खासै कोही देखिएनन्, कहींकतै मिडियामा बाहेक ।
गोर्बाचोभले जसरी विश्व शान्ति तथा भ्रातृत्वका लागि इमानदारी देखाए, त्यसरी नै के उनका समकक्षी अमेरिका तथा पश्चिमा जगतले यसमा इमानदारी देखाए भन्ने कुरामाथि कमै चर्चा हुने गरेको छ । यदि यसमा दोस्रो पक्ष पनि इमानदार भएको भए शीतयुद्धपछि विश्वमा यतिविघ्न मानवीय ध्वंस हुने थिएन कि भन्ने कुरा अतार्किक छैन । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मन खोलेर गोर्बाचोभप्रति समवेदना दिन नसक्नुले पनि अमेरिकीहरूमा केही हीनताबोध रहेको रूपमा यसलाई हेर्न नसकिने होइन ।
अहिले रूसको आक्रामकता सम्भवतः नाटोको विस्तार पूर्वतिर नभएको भए हुँदैनथ्यो भन्नेहरू पनि छन् । यसमा गोर्बाचोभले पनि पश्चिमाहरू इमानदार नरहेको बताइसकेका छन् । यूरोप आज संकटग्रस्त बन्दै गएको छ । रूस–युक्रेन युद्धले पुनः विश्वमा मानवीय संकट र युद्धको सम्भावनालाई जीवितै राखेको छ । हुनत ओशो रजनिशले युक्रेनको सन्दर्भमा तेस्रो विश्वयुद्धको सम्भावनालाई उहिल्यै औंल्याएका थिए ।
जेहोस्, गोर्बाचोभको उदयको समय विचार प्रस्फुटनको समय पनि थियो । जहाँ साम्यवाद, समाजवाद, उदारवाद आदिका बारे विचार–विमर्श तथा प्रयोगहरू विश्वव्यापी रूपमा भइरहेका थिए । धेरैले भन्ने गरेको गोर्बाचोभले साम्यवादमा उदारवाद छिराउन खोजेका थिए किनकि सोभियत समाज निकै साँघुरो घेरामा बाँच्न बाध्य थियो ।
जस्तो कि सोभियत संघको विघटनपछि मस्कोमा खुलेको म्याक डोनाल्डको परिकार लिन मानिसहरू लामो लाइन लाग्नुपरेको धेरैको सम्झनामा छ होला । यसले पनि सोभियत समाज विश्वबाट कति अलगथलग थियो भन्ने अनुमान लगाउन सकिन्छ । उनले सोभियत समाजलाई विश्वसँग हिंडाउन चाहेका थिए । तर घटनाक्रमहरू उनले सोचे भन्दा फरक भयो ।
चीनको जस्तो पहिले आर्थिक पक्षलाई मात्र अगाडि बढाएको भए ठूलो दुर्घटना नहुनसक्थ्यो भन्नेहरू पनि नभएका होइनन् । जेहोस्, उनका कारण विश्वव्यापी उथलपुथल भएकै हो ।
नेपालमै पनि सन् १९८९ मा प्रजातन्त्र आउनुमा गोर्बाचोभलाई नजोडिरहन सकिन्न होला । सोभियत स्कलरसिपमा पढ्न गएका केही नेपाली प्राविधिक आज ठूला व्यापारिक घरानामा स्थापित छन्, तिनले पक्कै पनि गोर्बाचोभलाई सम्झेकै होलान् ।
तर अफसोच तिनका कारण विश्वव्यापी रूपमा त्यत्रो परिवर्तनका बाछिटाहरू आए तापनि आफ्नै घरका सिसाहरू चर्किए, फुटे । तसर्थ इतिहासमा उनी केहीका लागि आलोचित र केहीका लागि प्रशंसित हुने देखिन्छ ।
(चौधरी विकास अध्येता हुन् ।)
प्रतिक्रिया 4