
देशमा पञ्चायती शासन थियो। गण्डकी अञ्चलको एउटा ब्राह्मण गाउँमा पञ्चायती सरकारले कम्युनिस्ट विरुद्ध एउटा अपरेशन गर्यो। अपरेशन अन्तर्गत कम्युनिस्टलाई छानीछानी पक्रेर जेल हाल्नुपर्ने थियो। त्यो गाउँमा सबै कम्युनिस्ट थिएनन्। कांग्रेस पनि थिए।
पञ्चायती राजमा पञ्चमण्डले त झन् हुने नै भए। एउटा गाउँमा सबै मान्छे एकै विचारधाराका हुनु संभव पनि थिएन। गाउँमा गएर गाउँलेलाई कम्युनिस्ट र गैरकम्युनिस्ट भनेर छुट्याउन पुलिसलाई कठिन भएछ। अनुहार हेरेर चिन्ने कुरा भएन।
तिमी कम्युनिस्ट हौ कि होइनौ भनेर सोधी–सोधी पत्ता लगाउन झन् कठिन। पञ्चमण्डलेलाई सोधौं, रिस उठेजति जम्मैलाई कम्युनिस्ट भन्देलान् भन्ने डर। लवाइखवाइले अलि अलि चिनिन्थ्यो होला। साधारण र हल्काफुल्का लवाइखवाइ भएका गाउँलेलाई कम्युनिस्ट भनेर समात्न त सकिन्थ्यो होला तर त्यो भरपर्दो र पर्याप्त थिएन। त्यसले गलत नतिजा दिनसक्थ्यो।
सबै गाउँलेले आफ्नो विचार व्यक्त गर्ने कुरा पनि थिएन। ‘म कम्युनिस्ट हुँ’ भन्दै पुलिसको सामु झन् को चाहिं आउँथ्यो र !
यत्तिकैमा एकजना असईसापले अपरेशनकै क्रममा फिल्डमै एउटा आइडिया सुझाएछन्। आइडिया अनुसार शंकास्पद ब्राह्मणहरूलाई समातेर एक एक गर्दै उनीहरूको कमिज खोलेर हेर्ने। जनै धारण गरेको छैन भने ऊ खाँटी कम्युनिस्ट हो। जनै धारण गरेको छ भने ऊ कम्युनिस्ट होइन।
असईसापको आइडिया अनुसार नै काम भयो। नभन्दै उनको आइडियाले राम्रो काम गर्यो। यो विधिबाट पञ्चायती राज्यलाई थुप्रै कम्युनिस्ट कार्यकर्ताहरू हातलागी भयो। यो अपरेशनको सफलता पछि ती असईसापले आफ्नो बढुवा हुन तीन वर्ष बाँकी छँदै सईको फुली लगाउन पाए।
हुन पनि कम्युनिस्ट ब्राह्मणहरू जनैलाई देखी सहँदैनथे। अनेक अनेक बिम्व र उपमा दिन्थे। आन्द्रोदेखि त्यान्द्रोसम्म जे पनि भन्दिन्थे। जनै धारण गर्नुलाई वाहियात काम भन्थे।
जनै मात्र किन ! दशैंमा जमरा राख्दैनथे। तिहारमा भाइटीका लगाउन्नथे। गाईपूजा गर्दैनथे। तिनले शिवलिङ्ग पुज्ने, शिवलिङ्गमा किलोका किलो सुन अर्पण गर्ने, त्यही सुनमा हेराफेरी गर्ने, राम नाम जप्दै रामको नाममा रथयात्रा गर्ने, स्वस्थानी, रामायणको व्याख्या गर्ने, टुप्पी पाल्ने, बाउआमा स्वर्गवास हुँदा छोराले र श्रीमान् स्वर्गवास हुँदा श्रीमतीले सेतो वस्त्र धारण गर्ने, किरिया, श्राद्ध आदि गर्ने, एकाह-सप्ताहमा दिल बसाउने, मन्दिर निर्माणमा चन्दा संकलन गर्ने भन्ने जस्ता कुरा त कल्पना बाहिरका थिए।
हो, यी कल्पना बाहिरका कुरालाई पञ्चायतको अन्त्यपछि उनीहरूले विस्तारै विस्तारै कल्पना भित्र ल्याए। अनि चुनावको मुखमा यथार्थ भित्र ल्याए। राजतन्त्रको अन्त्यपछि यसलाई अझ घनीभूत बनाए। देश र समाज बदल्न हिंडेका उनीहरू आफैं बदलिए र समाजवादको लक्ष्यलाई सफलीभूत बनाए।
अहिले त सोलोडोलो राज्य नै कम्युनिस्टको कब्जामा छ। सत्ता, सरकार र सडक सबैतिर कम्युनिस्टको हालीमुहाली छ। त्यसैले राज्यले कम्युनिस्ट विरुद्ध अपरेशन गर्ने, त्यसको लागि कम्युनिस्ट पत्ता लगाउने कुरा त अब रहेन। तर जनताले अहिले कम्युनिस्ट पत्ता लगाउनु पर्यो भने चाहिं ती असईसापको ठीक उल्टो विधि प्रयोग गरे मात्र सफलता मिल्नेछ।
यो एक्काइसौं शताब्दीको डिजिटल जमानामा ती असईसापको त्यस्तो परम्परागत र पञ्चायती विधिले काम गर्ने कुरा पनि भएन। आधुनिक कम्युनिस्ट पत्ता लगाउन आधुनिक विधि नै प्रयोग गर्नुपर्छ।
(कसैसँग मिल्न गएमा संयोग मात्र मानिनेछ।)
प्रतिक्रिया 4