
१८ भदौ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन संकटतर्फ धकेलिएको दाबी गरेका छन् । सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न नसकेरै गठबन्धन बनाएर चुनावमा गएको, तर सिट भागबण्डामा सहजै कुरा नमिल्दा संकटतर्फ धकेलिएको बताए ।
शनिबार बुटवलमा आयोजित प्रशिक्षणमा नेता पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएर पाँच–छ दलको गठबन्धन बनेको बताए । तर सिट बाँडफाँटको टुंगो र उम्मेदवार चयनपछि गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि र भाँडभैलो मच्चिने उनको दाबी छ ।
‘प्रचण्ड–माधवहरुले कांग्रेससँग जनाधार र हैसियतभन्दा धेरै सिट मागेपछि अहिले गठबन्धन संकटमा परेको छ,’ एमाले उपाध्यक्ष पौडेलले भने, ‘कांग्रेसको शेखर कोइराला पक्षले कांग्रेसले १०० सिटभन्दा थोरैमा सहमति गर्न सकिन्न भनेको छ, वाध्यताले बाहिर गठबन्धन सग्लो जस्तो देखिएपनि भित्रभित्र समस्यै समस्या र अविश्वास मात्रै छ ।’
स्थानीय तह निर्वाचनमा एमाले एक्लै लडेर उत्साहजनक जित निकालेको भन्दै एमालेले फेरि वहुमत ल्याएर सरकारमा पुग्ने तर्क गरे । नागरिकता विधयेकबारे भ्रम उत्पन्न गरिएको भन्दै उनले भ्रम चिर्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4