
काठमाडौं । बलिउडमा पछिल्लो समय एकपछि अर्को फिल्म असफल भइरहेका छन् । आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षयकुमार स्टारर ‘रक्षाबन्धन’ बक्स अफिसमा असफल सावित भए । चार वर्षपछि दर्शकमाझ गहिरो छाप छाड्ने आमिरको सोच फिक्का सावित भयो ।
यस्तोमा केही दक्षिण भारतीय फिल्मले भने बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । ‘पुष्पा’ र ‘आरआरआर’पछि अर्को तेलुगू फिल्म कार्तिकेय २ ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सफल भएको छ । यो फिल्मले हालसम्म विश्वव्यापी रुपमा सय करोड भारुको आँकडा पार गरिसकेको छ । भगवान कृष्णको ‘माइथोलोजी कनेक्सन’मा आधारित फिल्ममा निखिल सिद्धार्थको मुख्य भूमिका रहेको छ ।
रिलिजको पहिलो दिन ७ लाख मात्रै कलेक्सन गरेको फिल्मले बर्ड अफ माउथ राम्रो भएपछि हिन्दी भर्सनमा मात्रै २६ करोड भारु कमाइ गरेको छ भने यसको पूरै भारतको कलेक्सन ७५ करोड छ । चन्दु मोन्डेती निर्देशित ‘कार्तिकेय २’मा निखिलका साथै अनुपमा परमेश्वरन, अनुपम खेर, आदित्या मेनन लगायतको मुख्य भूमिका छ ।
यसपछि रिलिज भएको अर्को तेलुगू फिल्म लाइगर भने बक्स अफिसमा कमजोर देखिएको छ । विजय देवरकोन्डा र अनन्या पाण्डे स्टारर फिल्मले हालसम्म भारतभर ४० करोड र विश्वव्यापी रुपमा ५० करोड भारु कमाइ गरेको छ ।
प्रतिक्रिया 4