
२१ भदौ, जनकपुरधाम । प्रदेश र प्रतिनिधि सभा उम्मेदवारका लागि आफ्नो नाम सिफारिस नभएको भन्दै हरेक दलमा असन्तुष्ट नेता कार्यकर्ता छन् । तर कतिययको नाम भने एक भन्दा धेरै क्षेत्रबाट सिफारिस भएका छन् । यसमा सबभन्दा अगाडि छन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव ।
यादवको नाम प्रदेश १ र मधेश प्रदेशका ५ जिल्लाको १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएको छ । सप्तरीको चारै क्षेत्रबाट उनको नाम सिफारिस भएको छ ।
नाम सिरहाको क्षेत्र नम्बर १ र २, बाराको क्षेत्र नम्बर २, पर्साको क्षेत्र नम्बर ४, सुनसरीको क्षेत्र नम्बर २, मोरङ्गको क्षेत्र नम्बर ५ बाट पनि उनको नाम सिफारिस गरिएको छ ।
सम्मान दिन सबैतिर नाम सिफारिस गरिएको बताउँछन् जसपाका सप्तरी कोषाध्यक्ष वृजमान तामाङ । ‘उहाँ राष्ट्रिय अध्यक्ष हुनुहुन्छ, जहाँबाट जित्नुहुन्छ, त्यहाँको विकास हुन्छ’ वृजमान भन्छन्, ‘त्यही भएर उहाँको नाम सबैतिर सिफारिस भइरहेको छ ।’
धेरै क्षेत्रबाट नाम सिफारिस भए पनि उनी कहाँबाट चुनाव लड्ने भन्ने तय भइसकेको छैन । पहिलो संविधानसभामा मोरङ र सुनसरी तथा दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित यादव २०७४ को निर्वाचनमा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।
उनी यो पटक पनि सप्तरी २ बाटै उठ्ने तयारीमा रहेको उनी निकट नेता कार्यकर्ता बताउँछन् ।
अरु पनि भएका छन् धेरैतिरबाट सिफारिस
जसपा अध्यक्ष यादव मात्रै होइन, अन्य नेताको पनि एकभन्दा बढी ठाउँबाट सिफारिसमा परेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मधेश प्रदेशका दुई जिल्लाबाट सिफारिस भएका छन् । उनको नाम सर्लाही–४ बाट एकल रुपमा सिफारिस भएको छ भने सप्तरी–१ बाट पनि सिफारिस गरिएको छ । २०७४ को निर्वाचनमा सर्लाही–४ बाट कांग्रेसकै अमरेस सिंह निर्वाचित भएका थिए भने थापा भने काठमाडौं–४ बाट ।
सप्तरी–१ बाट पहिलो नम्बरमा थापाकै नाम राखिएको छ भने दोस्रो नम्बरमा पार्टीका जिल्ला सभापति रामदेव साह र तेस्रो नम्बरमा नेता शत्रुद्यन यादवको नाम सिफारिस गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता महतोको नाम धनुषा–३ र सप्तरी–३ बाट पनि सिफारिस गरिएको छ । महतो यसअघि धनुषा–३ बाट विजयी भएका थिए ।
जति ठाउँबाट सिफारिस भए पनि एकभन्दा बढी क्षेत्रबाट उम्मेदवार बन्ने सुविधा छैन । दोस्रो संविधानसभा निर्वाचन–२०७० सम्म एक व्यक्ति एकभन्दा बढी क्षेत्रबाट उम्मेदवारी दिने प्रावधान थियो । त्यही प्रावधानलाई टेकेर उपेन्द्र यादवसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितकाले दुई ठाउँबाट उम्मेदवारी दिएका थिए ।
तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा एकभन्दा बढी ठाउँबाट उम्मेदवार बन्न रोक लगाएको छ । ‘कुनै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार भएमा निजको सबै निर्वाचन क्षेत्रको उम्मेदवारी आयोगले बदर गर्नेछ’ ऐनमा भनिएको छ ।
‘यसपटक यही ऐन लागू हुने अवस्था छ’ निर्वाचन कार्यालय, सप्तरीका प्रमुख रमेश जोशी भन्छन्, ‘एकै व्यक्ति दुई ठाउँबाट उम्मेदवार भए निर्वाचन धेरै खर्चिलो हुन्छ ।’
प्रतिक्रिया 4