
२२ भदौ, काठमाडौं । राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन् । सभापतिका लागि भदौ २३ गते बिहीबार निर्वाचन गर्ने तय भएको छ ।
यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका थियो । तालिका अनुसार चार सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ । यसअघि पनि उनी नै सभापति थिइन्।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ ।
यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी थिए। उनी कार्यकाल सकिएर १९ फागुन २०७८ मा कार्यकाल सकिएर विदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिएका हुन्।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ ।
राष्ट्रियसभाका विषयगत समितिका सभापति पद कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा भएका थिए। रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए।
उनीहरु राष्ट्रियसभामा क्रियाशील छन्। ५९ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ। राष्ट्रियसभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ।
यस अनुसार सभापति चयन हुन लागेको हो । तर ७ महिना ढिलो गरी समितिले सभापति पाएको हो ।
प्रतिक्रिया 4