
२२ भदौ, काठमाडौं । नेतृत्व अभावका बीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमनलाई नियमित राखेको छ । ठूला चाड पर्वको मुखैमा विभागले आक्रामक अनुगमन गर्न नसके पनि दैनिक चार टोलीबाट अनुगमन गरिरहेको विभागले जनाएको छ ।
विभागमा प्राप्त हुने उजुरी तथा अन्य प्राथमिकता प्राप्त क्षेत्रहरु खाद्यान्न, लत्ता कपडा तथा म्याद गुज्रेका वस्तुहरुमा केन्द्रित रहेर अनुगमन भइरहेको विभागका अनुगमन शाखा प्रमुख होमनाथ भट्टराईले जानकारी दिए ।
‘उपलब्ध स्रोत साधनबाट बजार अनुगमन गरिरहेका छौं,’ निर्देशक भट्टराईले भने, ‘एउटा टोलीमा तीनदेखि चार जना सदस्य रहन्छन् ।’ नेतृत्व अभावका कारण अनुगमनको क्षेत्र निर्धारण र प्राथमिकतामा भने केही समस्या भएको विभागले जनाएको छ ।
अनुगमनलाई बृहत र अन्तर निकाय समन्वयमार्फत फरक क्षेत्रमा अनुगमन बढाउन नसके पनि नियमित अनुगमन भइरहेको विभागले जनाएको छ । केही दिन अघि विभागका महानिर्देशक लिलाप्रसाद शर्मालाई मन्त्रालय तानेको थियो । उनको ठाउँमा नयाँ जिम्मेवारी तोकिएको छैन । विभागले १९ भदौमा १७ वटा फर्ममा अनुगमन गरेको थियो । १६ भदौमा चार र १५ भदौमा ९ ब्यापारिक फर्ममा अनुगमन गरेको जनाएको छ ।
प्रतिक्रिया 4