
काठमाडौं । विदेशी फिल्मलाई काखा र स्वदेशी फिल्मलाई पाखा गर्ने प्रदर्शकको मनपरी पुनः दोहोरिएको छ । ‘केजीएफ २’ को एडभान्स सेललाई एक साताअघि नै खुला गरेका हल सञ्चालकले बिहीबार दिउँसो २ बज्दा समेत नेपाली फिल्मको बुकिङ खुला गरेका छैनन् ।
शुक्रबार रिलिज तयारीमा रहेका नेपाली फिल्महरु ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’ले बिहीबार अपरान्ह समेत शोबारे जानकारी पाउन सकेका छैनन् । बुधबार बेलुका वा बिहीबार बिहानसम्म शो प्रकाशित गर्ने आम प्रचलन हो, तर प्रदर्शकले अटेरी गरेका छन् ।
समयमै बुकिङ खुला नगरेर दर्शकलाई अन्योलमा राखेको भन्दै प्रदर्शन तयारीमा रहेका दुवै नेपाली फिल्मका निर्माता र निर्देशकले आपत्ति जनाएका छन् । ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले हिन्दी सिनेमाको सेन्सर नभएको कारणले आफ्नो फिल्मले शो टाइम पाउन नसकेको बताएका छन् ।
शुक्रबार नेपालमा दुई भारतीय फिल्म ब्रह्मास्त्र र सीता रामम रिलिजको तयारीमा छन् । बिहीबार अपरान्हसम्म यी दुवै फिल्मको सेन्सर भएको छैन । चलचित्र विकास बोर्डका प्रदर्शन अधिकृत गिरीश शर्माले अहिलेसम्म सेन्सर सिफारिसका लागि निवेदन नआएको बताए ।
शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले बिहीबारै सेन्सर गर्नुपर्ने दबाब पनि एकातिर छ । यस्तोमा सेन्सर बोर्डका सदस्य सन्तोषकुमार थापाले यदि सार्वजनिक बिदाको दिनमा सेन्सर गरिएमा आफू अनुपस्थित हुने चेतावनी दिइसकेका छन् । पछिल्लो समय प्रदर्शक र वितरकले विदेशी फिल्मलाई काखी च्यापेको आरोप लाग्ने गरेको छ ।
चलचित्र निर्माता संघले फिल्मलाई शुक्रबार मात्र रिलिज गर्ने निर्णय गरेपछि चलचित्र संघको आकस्मिक बैठक बोलाइएको छ । बैठकमा निर्माता संघको निर्णयबारे छलफल हुने संघका एक सदस्यले जानकारी दिए ।
यसैबीच, चलचित्र निर्देशक समाजले विज्ञप्ति जारी गदैृ फिल्म प्रदर्शनको बुकिङ खोल्न ढिलाइ गरेकोप्रति आपत्ति जनाएको छ ।
प्रतिक्रिया 4