
२३ भदौ, काठमाडौ । लामो विवाद र व्यवसायीको विरोध पछि सरकारले जीआई वायर रड, स्यानिटरी प्याडको कच्चा पदार्थसहित विभिन्न वस्तुको भन्सार महसुल र अन्तःशुल्क घटाउने निर्णय गरेको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो ।
बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार जीआई वायर रडको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको छ ।
यस्तै जीआई वायरमा लाग्दै आएको अन्तःशुल्क ३ हजार ५ सय रुपैयाँबाट घटाएर २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
यस्तै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई बढाएर ९० प्रतिशत पुर्याइएको छ ।
प्रतिक्रिया 4