
२४ भदौ, वीरगञ्ज । धान-चामल निर्यातमा गरेको कडाइ तत्काल सच्याउन विरगञ्ज उद्योग वाणिज्य संघले भारत सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले भारतले गरेको निर्णयबाट नेपाल-भारत बीचको ‘रोटी बेटी’को सम्बन्धमै प्रश्न उठेको उद्योगी व्यवसायीहरुले बताए ।
भारतले धान चामल निर्यातमा २० प्रतिशत कर लगाउने र कनिका निर्यातमा पूर्ण रोक लगाउने निर्णय गरेपछि वीरगञ्जका उद्योगी व्यवसायीहरुले यस्तो आक्रोश पोखेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले ‘रोटी बेटी’ को सम्बन्ध भएको भारतले सुपथ मूल्यमा रोटी खान पाउने नेपाली जनताको अधिकार छिन्न खोजेको आरोप लगाए ।
विश्व व्यापार संगठन डब्ल्यूटीओको सदस्य राष्ट्र भारतले खाद्यान्नमा शून्य भन्सार नीतिविरुद्ध कदम चालेको उनले बताए ।
आम नेपाली जनतालाई महँगीको मारमा पर्ने गरी ल्याइएको नीतिको घोर भर्त्सना गर्दै उनले कठोर निर्णय फिर्ता लिन भारतसँग उनले आग्रह गरे । राज्यको निकायले संवेदनशील भएर निजी क्षेत्रको कुरा नसुन्दा यस्तो स्थिति आएको उनको भनाइ थियो ।
संघले भारत सरकारसँग कुरा गरेर अहिले समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ । संघले भारत सरकारको निर्णयले नेपाली चामल मात्रै नभएर भुस र कनिकालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने अन्य उद्योगमा समेत ताला लाग्ने बताएको छ ।
‘धान ल्याएर चामल बनाउने मात्रै हैन, भारतबाट चामल नै मगाएर उपभोग गर्ने गरेका छौं,’ गुप्ताले भने, ‘भारत सरकारको पछिल्लो निर्णयले चामल उद्योग मात्रै हैन, बिस्कुट, मदिरा र दाना उद्योग बन्द हुन्छ । भुसबाट चल्ने हजारौं बोइलर बन्द भएपछि ठूला उद्योगमा असर पर्छ ।’ अब चोर बाटोबाट हुने व्यापार मौलाउने भन्दै संघले सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
प्रतिक्रिया 4