
२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताए ।
उनले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताए । ‘अहिले बैंकहरुमा तरलता चाप छ भनिरहनुभएको छ । बैंकहरुमा तरलताको चाप छैन । ऋण लगानीमा केही अफ्ठ्यारो मात्रै हो । बारम्बार तरलता चाप छ भनिरह्यौं भने विदशी मुलुकमा नराम्रो प्रभाव पर्न जान्छ,’ उनले भने, ‘हेजिङको विषय उठेन भने पूर्वाधार विकासको लगानी अधुरो रहन्छ । अहिले नेपाल सरकारको बजेट र राष्ट्र बैंकको नीतिमा हेजिङ शब्द लेखिएको हुन्छ । तर, कार्यन्वयन भएको भएको छैन ।’
उनले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासका लागि वृहत लगानी जुटाउन सकिने बताए । राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको उनले बताए ।
बैंकहरुले प्राथमिक पूँजीको १०० प्रतिशत बण्ड जारी गर्न सक्ने भन्दै उनले हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बन्ड जारी गरिसकेको बताए ।
राष्ट्र बैंकले ६३८ बण्ड जारी गर्न पाउने व्यवस्था रहेको भन्दै उनले रिभिनिङ ५०८ अर्बको क्षमता बैंकहरुसँग र त्यो बण्ड जारी गर्न सकियो भने जलविद्युत्, सहरी विकासलगायत ठूला औद्योगिक पूर्वाधारमा लगानी जुटाउन सक्ने बताए ।
पीपीए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रीय बैंकलाई रहेको भन्दै उनले सरकारले पीपीए खुलाएपछि नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष एवं बैंकरलाई बोलाएर छलफल गरेको बताए । सजिलैसँग पस्न दिने विदेशी ऋण विनियमावली बनाएर खुला गरी स्वीकृति लिन नआउनुपर्ने व्यवस्था राष्ट्र बैंकंले गरेको उनले बताए ।
प्रतिक्रिया 4